काठमाडौँ — जेन–जी अभियन्ता रक्षा बमले सम्माननीय प्रधानमन्त्रीलाई लक्षित गर्दै संसद्को पहिलो अधिवेशनदेखि हालसम्म प्रधानमन्त्रीको स्पष्ट सम्बोधन नआएकोप्रति प्रश्न उठाएकी छन्।
उनले चुनाव जितिसकेपछि जनतालाई धन्यवाद दिने र संसद् मार्फत राष्ट्रलाई सम्बोधन गर्ने अपेक्षा पूरा नभएको भन्दै यो लोकतान्त्रिक अभ्यासको कमजोरी भएको टिप्पणी गरेकी छन्।
“कुरा कम, काम बढी” भन्ने धारणा व्यक्तिगत शैली भए पनि संसद् मार्फत जनतालाई सम्बोधन गर्नु लोकतान्त्रिक शासन व्यवस्थाको अनिवार्य जिम्मेवारी भएको उनको भनाइ छ। उनले नेतृत्वले केवल प्राविधिक समाधान मात्र नभई जनतालाई मनोवैज्ञानिक विश्वास र साथ पनि दिनुपर्ने आवश्यकता औंल्याएकी छन्।
बमले प्रधानमन्त्रीले आफ्नो निजी शैलीअनुसार शासन चलाउने सोच भए लोकतान्त्रिक अभ्यासको पहिलो चरणमै पुनर्विचार गर्नुपर्ने बताउँदै, जनताले दिएको अवसरलाई संकुचित सोच र सीमित शैलीमा प्रयोग गर्नु उचित नहुने चेतावनीसमेत दिएकी छन्।
उनले अन्त्यमा प्रधानमन्त्री सक्षम र सबल हुन सक्ने स्वीकार गर्दै, तर नेतृत्वमा पुगेको व्यक्ति आफूलाई असीमित ठान्ने भूल दोहोरिन नहुने धारणा व्यक्त गरेकी छन्।



