कमल–३ मा निःशुल्क महिला स्वास्थ्य शिविर सम्पन्न, ८६ महिलाले सेवा लिए

झापा — ग्रामीण क्षेत्रका महिलाहरूलाई लक्षित गर्दै प्रजनन तथा महिला रोगसम्बन्धी स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले कमल गाउँपालिका–३ मा सञ्चालन गरिएको एकदिने निःशुल्क महिला स्वास्थ्य शिविर प्रभावकारी रूपमा सम्पन्न भएको छ।

महिला स्वास्थ्यप्रति सचेतना अभिवृद्धि गर्दै प्रारम्भिक चरणमै रोग पहिचान र उपचारमा पहुँच विस्तार गर्ने लक्ष्यसहित आयोजना गरिएको शिविरले स्थानीय महिलाहरूलाई प्रत्यक्ष लाभ पुर्‍याएको आयोजकले जनाएको छ।

आधारभूत स्वास्थ्य सेवा केन्द्रको प्राविधिक समन्वय तथा कमल गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा सम्पन्न शिविरमा प्रजनन स्वास्थ्य, पाठेघरसम्बन्धी समस्या, पाठेघरको मुखको क्यान्सर परीक्षण (VIA), स्तन परीक्षण, परिवार नियोजन सेवा लगायत विभिन्न महिला रोगसम्बन्धी सेवाहरू प्रदान गरिएको थियो। विशेषगरी पाठेघरको मुखको क्यान्सरको प्रारम्भिक परीक्षणलाई प्राथमिकता दिइनुले ग्रामीण महिलाहरूको स्वास्थ्य सुरक्षामा महत्वपूर्ण योगदान पुर्‍याएको जनाइएको छ।

शिविरमा डा. रेश्मा दाहालसहित सी. एएनएम सबिता गुरुङ, सी. एएनएम प्रतिक्षा शाह, एएनएम बिन्द्रा राई, सीता फुयाल र झुमा ढुंगानालगायत स्वास्थ्यकर्मीहरूको टोलीले सेवा प्रदान गरेको थियो। सहभागी महिलाहरूले स्वास्थ्य परीक्षणसँगै परामर्श र आवश्यक औषधि निःशुल्क प्राप्त गरेका थिए।

स्थानीय महिलाहरूले आफ्नै वडामै सेवा उपलब्ध हुँदा समय, खर्च र दूरीको समस्या समाधान भएको उल्लेख गर्दै यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका छन्।

कार्यक्रमका प्रमुख अतिथि तथा कार्यवाहक वडा अध्यक्ष भगवती राईले महिला स्वास्थ्यलाई स्थानीय सरकारको प्राथमिकतामा राखिएको बताउँदै यस्ता शिविरहरूले समुदायमा सकारात्मक व्यवहार परिवर्तन ल्याउने विश्वास व्यक्त गरिन्। उनले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने प्रतिबद्धता जनाइन्।

स्वास्थ्य शाखा प्रमुख दिपक प्रसाद दाहालका अनुसार शिविरमा ८६ जना महिलाहरूले सेवा लिएका छन्। उनका अनुसार यस्ता कार्यक्रमले लुकेर रहेका स्वास्थ्य समस्याहरूको पहिचान गर्न र समयमै उपचार प्रक्रिया अघि बढाउन महत्वपूर्ण भूमिका खेल्ने गर्दछ।

कमल गाउँपालिकाले पछिल्लो समय समुदाय केन्द्रित स्वास्थ्य कार्यक्रमहरूलाई प्राथमिकतामा राख्दै सेवा विस्तार गरिरहेको जनाएको छ। यस्ता शिविरहरूले ग्रामीण महिलाहरूमा स्वास्थ्यप्रति सचेतना बढाउनुका साथै समग्र जनस्वास्थ्य सुधारमा दीर्घकालीन सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ।

यसैबीच, आगामी चैत २६ गते आधारभूत स्वास्थ्य सेवा केन्द्र, कमल–१ बासबारीमा पनि निःशुल्क महिला स्वास्थ्य शिविर सञ्चालन गरिने स्वास्थ्य शाखाले जनाएको छ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय