झापा । कमल गाउँपालिका–४ मा स्वास्थ्य सेवाको गुणस्तर सुधारतर्फ उल्लेखनीय प्रगति देखिएको छ। वडा अध्यक्ष तथा आधारभूत स्वास्थ्य सेवा केन्द्र कमल–४ का सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष चन्द्र प्रसाद भट्टराईको सक्रिय नेतृत्वमा सेवा प्रवाह थप प्रभावकारी बन्दै गएको हो।
भट्टराईकै अध्यक्षतामा आज आधारभूत स्वास्थ्य सेवा केन्द्र, कमल–४ मा न्यूनतम सेवा मापदण्ड (Minimum Service Standards–MSS) सम्बन्धी अभिमुखीकरण तथा समीक्षा कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा स्वास्थ्य सेवालाई अझ प्रभावकारी, उत्तरदायी र गुणस्तरीय बनाउने उद्देश्यसहित विविध पक्षमा समीक्षा गरिएको जनाइएको छ।
कार्यक्रममा समितिका पदाधिकारीहरू, स्वास्थ्य शाखा प्रमुख दिपक प्रसाद दाहाल, जनस्वास्थ्य निरीक्षक देवराज पराजुली लगायत स्वास्थ्यकर्मीहरूको उल्लेखनीय सहभागिता रहेको कार्यक्रमको सञ्चालन स्वास्थ्य संस्था प्रमुख सानु खवासले गर्नुभएको थियो भने स्वागत मन्तव्य तथा कार्यक्रमको उद्देश्यबारे जानकारी स्वास्थ्य शाखा प्रमुख दाहालले प्रस्तुत गर्नुभएको थियो।
कार्यक्रमको उद्घाटन गर्दै अध्यक्ष भट्टराईले स्वास्थ्य सेवा जनताको पहिलो आवश्यकता भएको उल्लेख गर्दै यसको गुणस्तरमा कुनै सम्झौता गर्न नहुने धारणा व्यक्त गर्नुभयो।
प्राविधिक सत्रमा जनस्वास्थ्य निरीक्षक पराजुलीले अघिल्लो आर्थिक वर्षको तुलनामा सेवा सुधारको अवस्थाबारे प्रस्तुति दिनुभयो। उहाँका अनुसार गत वर्ष ७० प्रतिशत अंक प्राप्त गरेको स्वास्थ्य सेवा केन्द्रले यस वर्ष ७३ प्रतिशत अंक हासिल गर्दै प्रगति गरेको छ।
समिति सदस्य तथा वडा सदस्य नवीन राईले अध्यक्ष भट्टराईको नेतृत्वमा स्वास्थ्य क्षेत्रमा सकारात्मक परिवर्तन देखिएको बताउँदै आगामी दिनमा थप गुणस्तर सुधार गर्ने प्रतिबद्धता जनाउनुभयो। कार्यक्रममा वडा सदस्य चतुर्भुज सुवेदी, अन्य जनप्रतिनिधिहरू, महिला स्वास्थ्य स्वयंसेविका, समितिका पदाधिकारी तथा वडा सचिवलगायतको उपस्थिति रहेको थियो।
कार्यक्रमको समापन गर्दै अध्यक्ष भट्टराईले “सेवा विस्तारसँगै सेवाको व्यवहार पनि सुधार हुनुपर्छ” भन्दै स्वास्थ्यकर्मीहरूलाई मुस्कानसहित सेवा प्रदान गर्न आग्रह गर्नुभयो। साथै आगामी दिनमा स्वास्थ्य सेवा अझ प्रभावकारी र जनमैत्री बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो।
पूर्ण खोप सुनिश्चितता तथा दिगोपना वडा घोषणा
यसैबीच, आजै कमल गाउँपालिका–४ लाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना वडा घोषणा गरिएको छ। स्वास्थ्य संस्था प्रमुख सानु खवासका अनुसार घरधुरी सर्वेक्षणमार्फत छुट भएका दुई जना बालबालिकालाई समेत खोप लगाइ वडा भित्रका सबै बालबालिकाले पूर्ण खोप प्राप्त गरेको सुनिश्चित गरिएको हो।
घोषणाअघि उपस्थित जनप्रतिनिधि, स्वास्थ्यकर्मी, कर्मचारी, महिला स्वास्थ्य स्वयंसेविका तथा स्वास्थ्य संस्था सञ्चालन तथा व्यवस्थापन समितिका पदाधिकारीहरूले पूर्ण खोप सुनिश्चितता तथा दिगोपनाप्रति प्रतिबद्धता व्यक्त गरेका थिए।
वडा अध्यक्ष भट्टराईले कमल गाउँपालिकाकै पहिलो पूर्ण खोप सुनिश्चितता तथा दिगोपना वडा घोषणा हुन सफल भएकोमा खुशी व्यक्त गर्दै कर्मचारी, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका तथा सम्पूर्ण सहयोगीहरूलाई धन्यवाद व्यक्त गर्नुभयो।




