उर्लाबारी । मोरङको उर्लाबारी–७ बरगाछीमा आज संयुक्त रूपमा आयोजित रक्तदान कार्यक्रम सम्पन्न भएको छ। पवित्र सहकारी संस्था, संयुक्त ख्रीष्टियन समाज तथा उर्लाबारी हेब्रोन मण्डलीको सहकार्यमा येशू ख्रिष्टको पुनरुत्थान दिवसको अवसर पारेर कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रमबाट कुल ८० पाउण्ड रगत संकलन गरिएको आयोजकले जनाएको छ। वडा नम्बर ७ की जनप्रतिनिधि उर्मिला थापाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा संस्थाका अध्यक्ष रविन खड्का, उपाध्यक्ष प्रेम राई, सचिव गोपाल राई, व्यवस्थापक बबिता भण्डारी लगायतको उपस्थिति रहेको थियो।
त्यसैगरी, सल्लाहकार पूर्ण सुनुवार तथा संयुक्त ख्रीष्टियन समाजका अध्यक्ष एवं संस्थाका सल्लाहकार याम लावतीको समेत सहभागिता रहेको थियो।
कार्यक्रममा बोल्दै सचिव गोपाल राईले येशू ख्रिष्टको पुनरुत्थानले मानव जीवनमा आशा र नयाँ जीवनको सन्देश दिने उल्लेख गर्दै सोही सन्देशलाई आत्मसात् गर्दै रक्तदान कार्यक्रम आयोजना गरिएको बताए।
प्रमुख अतिथि उर्मिला थापाले रक्तदानलाई जीवनदानको रूपमा व्याख्या गर्दै यस्तो मानवीय र उदाहरणीय कार्यको प्रशंसा गर्दै आयोजकप्रति धन्यवाद व्यक्त गरिन्।
नेपाल रेडक्रस सोसाइटी उपशाखा दमकको प्राविधिक सहयोगमा सम्पन्न उक्त कार्यक्रम सामाजिक उत्तरदायित्व अन्तर्गत आयोजना गरिएको संस्थाले जनाएको छ।




