झापा । मोरङको उर्लाबारी र झापाको भद्रपुरबाट ठूलो परिमाणमा लागूऔषधसहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ।
विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरी टोलीले उर्लाबारी नगरपालिका–३ बाट स्थानीय ४३ वर्षीय योगेन्द्र तुङहाङ र ४४ वर्षीय कमल दाहाललाई पक्राउ गरेको हो।
उनीहरूको साथबाट विभिन्न प्रकारका प्रतिबन्धित औषधि २६ हजार ६५ पिस, ७ ग्राम ८९० मिलिग्राम ब्राउन सुगर, २ किलो २३० ग्राम गाँजा, नगद २२ हजार २७० रुपैयाँ, ३ थान मोबाइल र प्र.१–०२–५९ प १८५९ नम्बरको स्कुटर बरामद गरिएको प्रहरीले जनाएको छ।
त्यसैगरी, झापाको भद्रपुर नगरपालिका–३ स्थित आँपगाछीबाट वडा प्रहरी कार्यालय भद्रपुरको टोलीले लागूऔषध ब्राउन सुगरसहित थप २ जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा भद्रपुर नगरपालिका–४ का मनराज राई र खगेन्द्र गौतम रहेका छन्। उनीहरूको साथबाट २ ग्राम ४१० मिलिग्राम ब्राउन सुगर बरामद गरिएको प्रहरीले जनाएको छ।



