झापा । कमल गाउँपालिका–३ स्थित आधारभूत स्वास्थ्य सेवा केन्द्र, केर्खाले स्वास्थ्य सेवा सुधारतर्फ उल्लेख्य प्रगति हासिल गरेको छ। वडा अध्यक्ष तथा सञ्चालन–व्यवस्थापन समितिका अध्यक्ष अग्नि कोइरालाको नेतृत्वमा केन्द्रले न्यूनतम सेवा मापदण्ड (MSS) मूल्याङ्कनमा सुधार देखाएको हो।
बिहीबार आयोजित MSS सम्बन्धी अभिमुखीकरण तथा समीक्षा कार्यक्रममा सेवा प्रवाहलाई थप प्रभावकारी, उत्तरदायी र गुणस्तरीय बनाउने विषयमा छलफल गरिएको थियो। कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख दिपक प्रसाद दहाल, जनस्वास्थ्य निरीक्षक देवराज पराजुली, समितिका पदाधिकारी तथा स्वास्थ्यकर्मीहरूको सहभागिता रहेको थियो।
कार्यक्रमको सञ्चालन केन्द्रका प्रमुख टिकाराज बर्देवाले गर्नुभएको थियो भने स्वागत तथा उद्देश्यबारे स्वास्थ्य शाखा प्रमुख दहालले जानकारी गराउनुभयो।
कार्यक्रम उद्घाटन गर्दै अध्यक्ष कोइरालाले स्वास्थ्य सेवा जनताको आधारभूत आवश्यकता भएकाले यसको गुणस्तरमा कुनै सम्झौता गर्न नहुने बताउनुभयो।
प्राविधिक सत्रमा जनस्वास्थ्य निरीक्षक पराजुलीले प्रस्तुत गरेको विवरण अनुसार गत आर्थिक वर्ष ६८ प्रतिशत अंक प्राप्त गरेको केन्द्रले यस वर्ष ७३ प्रतिशत अंक हासिल गर्दै सुधार देखाएको छ।
समिति सदस्य बिरेन्द्र अधिकारीले अध्यक्ष कोइरालाको नेतृत्वमा स्वास्थ्य क्षेत्रमा सकारात्मक परिवर्तन आएको उल्लेख गर्दै आगामी दिनमा थप सुधारका लागि प्रतिबद्धता जनाउनुभयो।
समापनमा अध्यक्ष कोइरालाले सेवा विस्तारसँगै सेवाग्राहीप्रति व्यवहार सुधार गर्नुपर्नेमा जोड दिँदै स्वास्थ्यकर्मीलाई मुस्कानसहित सेवा दिन निर्देशन दिनुभयो। साथै स्वास्थ्य सेवालाई अझ प्रभावकारी र जनमैत्री बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो।



