काभ्रेपलाञ्चोक — राष्ट्रिय आर्थिक गणना २०८२ को सन्दर्भमा जिल्ला आर्थिक गणना कार्यालय काभ्रेपलाञ्चोकद्वारा धुलिखेलमा अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ।



‘अर्थतन्त्र मापनका लागि आर्थिक गणना’ भन्ने नारासहित सरकारले देशव्यापी रूपमा आर्थिक गणना अभियान सञ्चालन गरिरहेको छ।
कार्यक्रममा जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकका प्रमुख दिपक कुमार गौतमले व्यवसायी तथा उद्यमीहरूलाई यथार्थ र विश्वसनीय तथ्याङ्क उपलब्ध गराउन आग्रह गर्नुभयो। सही तथ्याङ्कका आधारमा मात्र प्रभावकारी नीति निर्माण सम्भव हुने उल्लेख गर्दै उहाँले व्यवसायमैत्री वातावरण अभावले रोजगारी सिर्जनामा चुनौती देखिएको बताउनुभयो।
प्रमुख जिल्ला अधिकारी तथा जिल्ला आर्थिक गणना समिति २०८२ का संयोजक गोपाल कुमार अधिकारीले आर्थिक गणनामा नागरिक, व्यवसायी र सञ्चारकर्मीको सक्रिय सहभागिता आवश्यक रहेको बताउनुभयो। उहाँले यस गणनाबाट मुलुकको आर्थिक अवस्था, क्षेत्रगत प्रगति तथा नीतिगत दिशा निर्धारणमा महत्वपूर्ण सहयोग पुग्ने स्पष्ट पार्नुभयो। साथै, व्यक्तिगत विवरण पूर्ण रूपमा गोप्य रहने र आवश्यक परे इमेलमार्फत समेत विवरण संकलन गरिने जानकारी दिनुभयो।
काभ्रे उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष रविन्द्र बैदारले व्यवसायीहरूमा देखिएको गोपनीयता सम्बन्धी चिन्ता हटाउँदै सत्यतथ्य विवरण उपलब्ध गराउन आग्रह गर्नुभयो। उहाँले तथ्याङ्कको गोपनीयता सुनिश्चित गर्न सरकार गम्भीर हुनुपर्ने धारणा राख्नुभयो।
त्यसैगरी, होटल एसोसिएसन काभ्रेपलाञ्चोकका अध्यक्ष प्रल्हाद प्याकुरेलले आर्थिक गणनाबाट प्राप्त तथ्याङ्क निजी क्षेत्रका लागि पनि उपयोगी हुने उल्लेख गर्दै यसले नयाँ लगानी तथा व्यवसाय विस्तारमा मार्गदर्शन गर्ने बताउनुभयो।
नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोकका अध्यक्ष विनोद न्यौपानेले सही तथ्याङ्कले देशको आर्थिक नीति निर्माण प्रक्रियालाई सुदृढ बनाउन महत्वपूर्ण योगदान दिने धारणा व्यक्त गर्नुभयो।
कार्यक्रममा अग्रणी व्यवसायी, सञ्चारकर्मी तथा विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।








