आयल निगमद्वारा पेट्रोल र डिजेलको मूल्य वृद्धि घोषणा

काठमाडौं। अमेरिका र इजरायलले इरानविरुद्ध गरेको आक्रमणले मध्यपूर्वी एसियामा युद्ध निम्तिएसँगै विश्व बजारमा इन्धनको मूल्यमा भारी वृद्धि भएको छ । नेपाल आयल निगमले जारी गरेको विज्ञप्तिमा भोलि सोमबारबाट लागू हुनेगरी पेट्रोल र डिजेलमा क्रमशः १५ र १० रुपैँयाले मूल्य वृद्धि भएको हो ।

इन्धनमा भएको अत्यधिक मूल्यवृद्धिको मार उपभोक्तालाई कम गर्न निगमले केहि रकम मूल्य स्थिरीकरण कोषबाट व्यहार्नेगरी हाललाई प्रतिलिटर १५ र १० रुपैयाँ बढाइएको जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा भएको मूल्यवृद्धिको अनुसार इन्डियन आयल कर्पोरेशनबाट प्राप्त दररेटअनुसार नेपालमा पेट्रोल प्रतिलिटर ३१ रुपैयाँ र डिजेल/मट्टितेलमा प्रतिलिटर ५४ रुपैयाँ महँगो पर्न जाने निगमले विज्ञप्तिमार्फत स्पष्ट पारेको हो । त्यस्तै खाना पकाउने एल.पि. ग्यासमा प्रतिसिलिण्डर २१६ रुपैयाँ मूल्य वृद्धि भएको निगमको भनाइ छ ।

अबको उपभोक्ता मूल्य पेट्रोलमा पहिलो वर्ग रु १५४.५० प्रतिलिटरबाट बढेर रु १६९.५० पुग्ने छ । त्यस्तै दोस्रो र तेस्रो वर्गमा क्रमशः १५६ र १५७ रुपैयाँबाट वृद्धि भएर क्रमशः १७१ र १७२ रुपैयाँ कायम हुनेछ ।

त्यस्तै डिजेल र मट्टितेलमा क्रमशः पहिलो वर्ग रु १३९.५० बाट वृद्धि भइ प्रतिलिटर १४९.५० मूल्य कायम हुनेछ । त्यस्तै दोस्रो र तेस्रो वर्गमा क्रमशः १४१ र १४२ प्रतिलिटरबाट मूल्यवृद्धि भएर रु १५१ र १५२ कायम हुनेछ ।

पछिल्लो अमेरिका–इरान युद्धका कारण विश्वभर इन्धन आपूर्तिमा अवरोध उत्पन्न हुँदा इन्धनको मूल्यमा असाधारण वृद्धि भएको निगमको भनाइ छ ।

विश्व बजारमा इन्धनको मूल्य घटेसँगै नेपालमा पनि सोही आधारमा मूल्य समायोजन हुने निगमको भनाइ छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय