झापा क्षेत्र नम्बर ५ मा चुनावी समाचार संकलनका क्रममा पत्रकार अर्जुन आचार्यमाथि साङ्घातिक आक्रमण गर्ने मुख्य अभियुक्त युवराज पाठक पक्राउ परेका छन् । घटना भएको १५ दिन र किटानी जाहेरी दर्ता भएको दुई साता बितिसक्दा पनि आरोपी पक्राउ नपरेको भन्दै प्रहरी प्रशासनको आलोचना भइरहेका बेला प्रहरीले पाठकलाई आज (शनिबार) बिहान नियन्त्रणमा लिएको हो ।
झापाको शिवसताक्षी नगरपालिका–४ स्थित बुलुचोकमा लुकेर बसेको अवस्थामा प्रहरीले उनलाई पक्राउ गरेको हो । झिलझिले चोकबाट झण्डै १० किलोमिटर टाढा आफन्तको घरमा बसेका पाठकलाई इलाका प्रहरी कार्यालय दमकबाट खटिएको टोलीले बिहानै नियन्त्रणमा लिएर दमक ल्याएको छ ।
एमालेको घरदैलोका क्रममा केही महिलाहरूले राष्ट्रिय स्वतन्त्र पार्टी (घण्टी) मा मतदान गर्ने बताएको दृश्य खिचिरहेका बेला आचार्यमाथि आक्रमण भएको थियो । पीडितका अनुसार उनलाई बा २ च ९६१ नम्बरको सेतो स्कोर्पियोमा जबर्जस्ती चढाएर अपहरण गर्ने प्रयास समेत गरिएको थियो । आक्रमणकारीले आचार्यको मोबाइल र चस्मा समेत लुटेर ‘दमक पुगेपछि थप देखाइदिने’ धम्की दिएका थिए । आचार्य रातोपाटी डटकमका कोशी प्रदेश प्रमुख तथा हाम्रोमत डटकमका कार्यकारी सम्पादक हुन् ।
डिआइजी घिमिरेले तत्काल कारबाहीका लागि निर्देशन दिएको ११ दिनपछि र घटना भएको १५ दिन पुग्दा प्रहरीले मुख्य अभियुक्तलाई समात्न सफल भएको हो । झापा प्रहरीले घटनालाई गम्भीरतापूर्वक लिएर अनुसन्धान भइरहेको र अन्य अभियुक्तहरूको पनि खोजी भइरहेको बताएको छ ।
मुख्य अभियुक्त पक्राउ परेसँगै पीडित पत्रकारले लुटिएका सामान फिर्ता र क्षतिपूर्तिको माग समेत गरेका छन् ।



