विराटनगर | झापा र सुनसरीका विभिन्न स्थानबाट लागू औषधसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको प्रादेशिक अनुसन्धान समूह, इलाका प्रहरी कार्यालय धरान र अस्थायी प्रहरी चौकी अमरहाटबाट खटिएको प्रहरी टोलीले फागुन २८ गते सुनसरीको धरान–१३ बाट संखुवासभा सिलिचोङ गाउँपालिका–४ का २० वर्षीय सन्दिप राईलाई ३० किलोग्राम गाँजासहित पक्राउ गरेको हो।
यस्तै अस्थायी प्रहरी पोस्ट जोरसखुवाले धरान–११ बाट सोही स्थानका डानियल राईलाई ट्रामाडोल ६० क्याप्सुल र डिकोलिक १४९ ट्याब्लेटसहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
त्यस्तै झापाको इलाका प्रहरी कार्यालय झिलझिलेले शिवसताक्षी नगरपालिका–११ का ३२ वर्षीय शिवा मल्लिक र शिवसताक्षी–८ का कैलाश रणपयलीलाई १ ग्राम ६१० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो।
पक्राउ परेका चारै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



