काठमाडौं — नेपाल सरकार, परराष्ट्र मन्त्रालय अन्तर्गतको राहदानी विभागले नयाँ प्रणाली लागू गर्ने तयारीका कारण राहदानी सेवा अस्थायी रूपमा प्रभावित हुन सक्ने जनाएको छ। विभागले शुक्रबार सूचना जारी गर्दै हाल प्रयोग भइरहेको प्रणालीबाट नयाँ प्रणालीमा परिवर्तन (स्विच) गर्ने प्रक्रियाका कारण केही समय सेवा प्रभावित हुन सक्ने जानकारी दिएको हो।
सूचनाअनुसार जिल्ला/इलाका प्रशासन कार्यालय तथा विदेशस्थित नेपाली नियोगबाट प्रदान गरिने राहदानी सेवा १ देखि ३ घण्टासम्म बन्द हुन सक्नेछ। त्यस्तै, राहदानी विभागबाट प्रदान गरिने सेवा करिब ९ घण्टासम्म बन्द हुन सक्ने बताइएको छ।
नयाँ प्रणाली कार्यान्वयनपछि प्रणाली स्थिरीकरण हुन १ देखि ३ महिना लाग्न सक्ने भएकाले उक्त अवधिमा राहदानी तयार भएर जारी हुन हालको भन्दा बढी समय लाग्न सक्ने विभागले जनाएको छ।
विभागले आगामी ६ महिनाभित्र राहदानी आवश्यक पर्ने सेवाग्राहीलाई अन्तरिम अवस्था सुरु हुनुअघि नै सम्बन्धित जिल्ला/इलाका प्रशासन कार्यालय, विदेशस्थित नेपाली नियोग वा राहदानी विभागबाट राहदानी सेवा लिन अनुरोध गरेको छ।
राहदानी विभागले नयाँ प्रणाली सुरु हुने मिति र त्यस अवधिमा गरिने व्यवस्थाबारे थप जानकारी पछि सार्वजनिक गरिने जनाएको छ।



