काठमाडौं । राजनीतिक आस्थाका कारण डिजिटल प्लेटफर्महरुबाट मानसिक हिंसा गरिएको भन्दै अनेरास्ववियुकी नेतृ प्रिती दाहालले प्रहरीका साइबर व्युरोमा उजुरी गरेकी छन् ।
एमालेसम्वद्ध अनेरास्ववियुकी केन्द्रीय सदस्य तथा मोरङ जिल्लाकी इञ्चार्ज दाहालले विभिन्न राजनीतिक तथा सामाजिक सन्दर्भमा फेसबुक, टिकटकलगायतका डिजिटल प्लेटफर्मबाट गरेका पोष्टमाथि प्रतिक्रिया दिने क्रममा कतिपय व्यक्तिले ज्यानमार्नेसम्मको धम्की दिएको बताएकी छन् ।
उनले मंगलबार भोटाहिटीस्थित व्युरोको कार्यालयमा उजुरी दिएकी हुन् । बढीजसो अपरिचित वा व्यक्ति नखुल्ने आईडीबाट त्यस्ता धम्की आएको उनले बताइन् । धम्की दिनेमध्ये केहीका नाम र ठेगाना पनि खुलेको उनको भनाइ छ ।
भदौ २३-२४ को जेन-जी आन्दोलनपछि एमालेका पक्षमा डिजिटल प्लेटफर्ममा प्रस्तुत हुने आफूजस्ता कैयौँ कार्यकर्तामाथि त्यस्ता प्रताडना दिइएको उनले बताइन् ।
नेपाल प्रेससँग कुरा गर्दै उनल भनिन्, ‘म प्रतिवाद गर्नुपर्छ र दोषीलाई कानूनी दायरामा ल्याउनुपर्छ भन्ने मान्यता राख्छु, तर थुप्रै साथीहरु त्यस्ता धम्कीका कारण मानसिक रुपमा विक्षिप्त भइसकेका छन् ।’
डिजिटल प्लेटफर्मका माध्यमबाट दिइने हिंसाविरुद्ध प्रचलित कानून आकर्षित हुने र कसुरदारमाथि कडा कारवाही हुने कुरा थुप्रै राजनीतिक कार्यकर्तालाई नै थाहा नभएका कारण आफूले उजुरी दिएर कारवाहीको मागसँगै त्यस्तो कदमको सन्देश पनि दिन खोजेको उनले भनिन् ।
साइबर व्युरोमा उजुरी दिएपछि उनले फेसबुकमा यस्तो भनाइ पोष्ट गरेकी छन्–
कायरहरूको धम्कीले विचारको मशाल निभ्दैन
मेरो राजनीतिक आस्था र निष्ठामाथि प्रहार गर्न नसकेर परिवार र ज्यानकै धम्की दिने ‘साइबर अपराधी’ हरूलाई मेरो स्पष्ट चेतावनी छ– तिमीहरूको निकृष्ट शब्द र डर देखाउने शैलीले मलाई एक इन्च पनि विचलित तुल्याउने छैन। विचारको महासंग्राममा तर्कले हार्नेहरू नै हिंसा र गालीको सहारा लिन्छन्।
मैले पटक-पटक संयमता अपनाएँ, तर मेरो धैर्यतालाई कमजोरी ठान्ने गल्ती गरियो। त्यसैले, आज मैले विद्युतीय कारोबार ऐन, २०६३ र प्रचलित कानुन बमोजिम साइबर ब्युरोमा आधिकारिक उजुरी दर्ता गराएको छु। यो जानि राख, सामाजिक सञ्जालमा कसैलाई गालीगलौज गर्ने, मानमर्दन गर्ने वा ज्यान मार्ने धम्की दिने कार्य अक्षम्य अपराध हो।
प्रविधिको पर्दा पछाडि लुकेर कसैको निजी जीवन र सुरक्षामाथि खेलबाड गर्नेलाई कानुनले पातालबाट भए पनि खोजेर कठघरामा उभ्याउनेछ। मेरो आस्था र सिद्धान्त मेरो गौरव हो। म माथिको प्रहार मेरो विचार माथिको प्रहार हो, जसको सामना म कानुनी र राजनीतिक दुवै मोर्चाबाट गर्न तयार छु।
अपराधीहरूको पहिचान अब राज्यको संयन्त्रले गर्नेछ। म डराउने होइन, लड्ने मान्छे हुँ। सत्य र न्यायको पक्षमा मेरो यो लडाइँ जारी रहनेछ। कानुनी कठघरामा उभिएपछि तिमीहरूको यो नक्कली ‘क्रान्तिकारिता’ को अन्त्य हुने निश्चित छ। राजित मानसिकता भएकाहरूलाई सामाजिक बहिष्कार गरौँ ।



