निर्वाचन आयोगद्वारा सेतोपाटीलाई एक लाख रूपैयाँ जरिवाना

काठमाडौँ । निर्वाचन आयोगले सेतोपाटी सञ्चार प्रालिलाई एक लाख रूपैयाँ जरिवाना तोकेको छ।

निर्वाचन विश्लेषण प्रकाशन गरेको भन्दै सोमबार आयोगले सेतोपाटीलाई जरिवाना तोक्ने निर्णय गरेको हो।

सेतोपाटीले निर्वाचन आचारसंहिता २०८२ को दफा ४ को दण्ड (त), दफा २५ को उपदफा (१) को खण्ड ख, च र छ उल्लंघन गरेको आयोगको आरोप छ। तोकिएको जरिवाना आयोगमा १५ दिनभित्र दाखिला गर्न पनि भनिएको छ।

सेतोपाटीले ११ वटा निर्वाचन क्षेत्र पुगेर, १० हजारभन्दा बढी मतदातासँग कुरा गरेर ती क्षेत्रका निर्वाचन विश्लेषणहरू लेखेको थियो।

यसअघि निर्वाचन आयोग र प्रेस काउन्सिलले यस विषयमा स्पष्टीकरण सोधेको थियो। सेतोपाटीले सबै स्पष्टीकरण बुझाएको छ।

यसरी काटिएका पत्र रोक्न र कारबाही प्रक्रिया रोक्न माग गर्दै सेतोपाटीका प्रधानसम्पादक अमित ढकालले फागुन १४ गते सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। निर्वाचन आयोग र प्रेस काउन्सिललाई विपक्षी बनाइएको थियो।

‘निवेदकले सम्बन्धित क्षेत्रका मतदाताहरूसँग कुरा गरी तयार गरी प्रकाशन गरेको निर्वाचन विश्लेषण हटाउन लगाउने र अब प्रकाशन हुन लागेका विश्लेषणलाई प्रकाशन गर्न नरोक्नू भनी प्रतिषेध जारी गरिपाऊँ,’ रिटमा भनिएको छ, ‘यो निवेदनको अन्तिम टुंगो नलागुन्जेलसम्म प्रकाशित सामग्री हटाउन वा प्रकाशनको तयारीमा रहेका सामग्री प्रकाशन गर्न नरोक्नू/ नरोकाउनू भनी अन्तरिम आदेश जारी गरिपाऊँ।’

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय