डिकेन्द्र बस्नेत। अन्तर्राष्ट्रिय महिला दिवस हरेक वर्ष मार्च ८ मा विश्वभर मनाइने विशेष दिवस हो। यस दिन महिलाको अधिकार, समानता, उपलब्धि तथा समाज निर्माणमा महिलाले पुर्याएको महत्वपूर्ण योगदानलाई सम्झने र सम्मान गर्ने गरिन्छ।
इतिहासमा महिलाले शिक्षा, रोजगार, राजनीति र सामाजिक अधिकारका लागि लामो संघर्ष गरेका छन्। त्यही संघर्ष र उपलब्धिलाई सम्मान गर्दै संसारभर महिला दिवस मनाइँदै आएको छ।
महिला दिवसको मुख्य उद्देश्य समाजमा महिलालाई समान अवसर र सम्मान दिलाउनु हो। अझै पनि धेरै देशहरूमा महिलाले शिक्षा, रोजगारी, स्वास्थ्य र राजनीतिक सहभागितामा विभिन्न चुनौतीहरू सामना गरिरहेका छन्। महिला दिवसले यस्ता समस्याबारे जनचेतना फैलाउने र समाधान खोज्ने प्रेरणा दिने विश्वास गरिन्छ।
महिलाहरू परिवार, समाज र राष्ट्र निर्माणका मुख्य आधार मानिन्छन्। घरपरिवारको संरक्षण र पालनपोषणदेखि शिक्षा, स्वास्थ्य, व्यापार, विज्ञान, राजनीति र नेतृत्वसम्म महिलाहरूको सक्रिय भूमिका रहेको छ। आज महिलाहरू विश्वका विभिन्न देशहरूमा प्रधानमन्त्री, राष्ट्रपति, वैज्ञानिक, शिक्षक, उद्यमी तथा सामाजिक अभियन्ताका रूपमा महत्वपूर्ण जिम्मेवारी निर्वाह गरिरहेका छन्।
नेपालमा पनि महिला दिवस विभिन्न कार्यक्रम, सभा, र्याली, सम्मान कार्यक्रम तथा छलफलमार्फत मनाइन्छ। यस अवसरमा महिलाको अधिकार, समानता, हिंसाविरुद्धको अभियान तथा आर्थिक सशक्तिकरणका विषयमा चर्चा गरिन्छ। संविधानले महिलालाई समान अधिकार सुनिश्चित गरे पनि व्यवहारमा अझै सुधार गर्नुपर्ने धेरै क्षेत्र रहेको बताइन्छ।
श्रम संस्कृति पार्टीकी केन्द्रीय सदस्य शान्ति पाख्रिनले महिला दिवस केवल उत्सव मात्र नभई समानता, सम्मान र अधिकारको अभियान भएको बताएकी छन्। समाजमा महिलाको योगदानलाई कदर गर्दै उनीहरूलाई शिक्षा, अवसर र नेतृत्वमा समान स्थान दिनु सबैको जिम्मेवारी भएको उनको भनाइ छ। महिलाको सम्मान गर्ने समाज नै सभ्य र समृद्ध समाज बन्न सक्ने भएकाले महिला अधिकार र सम्मानको पक्षमा सबैले उभिनुपर्ने उनले बताइन्।
नाइटिङ्गेल एकेडेमी बनेपाकी प्रिन्सिपल उमा बस्नेतले पनि महिला परिवार, समाज र राष्ट्र निर्माणका मुख्य आधार भएको उल्लेख गर्दै महिलाको शिक्षा र सशक्तिकरणबाट मात्रै समृद्ध र समान समाज निर्माण सम्भव हुने बताइन्। उनले अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा सम्पूर्ण महिलाहरूलाई हार्दिक शुभकामना व्यक्त गरेकी छन्।
यसैगरी कमल गाउँपालिकाकी उपाध्यक्ष प्रमिला न्यौपाने तिवारीले अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा सम्पूर्ण महिला दिदीबहिनीहरूलाई शुभकामना व्यक्त गर्दै समाज निर्माणमा नर र नारी दुवैको समान आवश्यकता रहेको बताएकी छन्। उनले अझै पनि समाजमा महिलाको योगदानलाई पूर्ण रूपमा नबुझिएको र महिलालाई दोस्रो दर्जामा हेर्ने प्रवृत्ति कायम रहेको उल्लेख गरिन्।
संविधानपछि महिलाको अधिकारमा केही सुधार भए पनि व्यवहारमा अझै पूर्ण रूपमा कार्यान्वयन हुन नसकेको उनको भनाइ छ। नारीलाई सम्मान गर्ने व्यक्ति नै जीवनमा सफल हुने तिवारीले बताइन्।



