बसुन्धरा हुमागाईंको पहलमा बागमतीमा किसान र पशु स्वास्थ्य प्राविधिकलाई राहत
काठमाडौं । बसुन्धरा हुमागाईं को पहलमा नेपाल प्यारा भेटेनरी एण्ड लाइफ स्टक एसोसिएसन ले किसान तथा पशु स्वास्थ्य प्राविधिकको हक–हितका लागि अघि बढाएको अभियानले बागमती प्रदेश मा महत्वपूर्ण उपलब्धि हासिल गरेको जनाएको छ। एसोसिएसनका अनुसार नेपालमै पहिलोपटक बागमती प्रदेशमा किसानले दूधको मूल्यमा राहत पाउने तथा दूधमा प्रदान गरिँदै आएको अनुदान रकम प्राप्त गर्ने व्यवस्था सुनिश्चित भएको हो।
दुग्ध उत्पादनमा आधारित किसानहरूलाई प्रत्यक्ष राहत पुग्ने गरी प्रदेश सरकारले दूधको न्यूनतम मूल्यमा सहुलियत दिने र अनुदान वितरणलाई व्यवस्थित बनाउने निर्णय कार्यान्वयन चरणमा पुगेको एसोसिएसनले जनाएको छ। बढ्दो उत्पादन लागत, पशुखाद्यको मूल्यवृद्धि र बजार अस्थिरताले समस्यामा परेका किसानलाई यस निर्णयले केही सहज हुने अपेक्षा गरिएको छ।
बसुन्धरा हुमागाईंको सक्रिय पहल र समन्वयमा किसानका माग सम्बोधनतर्फ प्रदेश सरकार सकारात्मक बनेको जनाइएको छ।
त्यसैगरी, बागमती प्रदेशमै पहिलोपटक पशु स्वास्थ्य प्राविधिकहरूले गाई–भैंसी तथा बाख्रालाई खोप (भ्याक्सिन) लगाउँदा पाउने पारिश्रमिक वृद्धि गरिएको छ। लामो समयदेखि न्यून पारिश्रमिकमा सेवा दिँदै आएका प्राविधिकहरूको मागलाई सम्बोधन गर्दै प्रदेश सरकारले खोप सेवा शुल्क बढाएको हो। यस निर्णयले पशु स्वास्थ्य सेवामा थप उत्साह, जिम्मेवारी र गुणस्तर वृद्धि हुने विश्वास व्यक्त गरिएको छ।
एसोसिएसनका अनुसार किसान र प्राविधिक दुवैको आर्थिक तथा पेशागत सुरक्षालाई ध्यानमा राखेर गरिएको यो निर्णयले दुग्ध उत्पादन र समग्र पशुपालन क्षेत्रमा सकारात्मक प्रभाव पार्नेछ। “किसान र प्राविधिक सशक्त भए मात्र कृषि तथा पशुपालन क्षेत्र दिगो रूपमा अगाडि बढ्छ,” एसोसिएसनले जनाएको छ।
बागमती प्रदेशमा हुमागाईंको पहलमा अघि बढाइएको यो कदम अन्य प्रदेशका लागि पनि उदाहरणीय बन्न सक्ने अपेक्षा गरिएको छ। किसान संगठन तथा पशु स्वास्थ्यकर्मीहरूले निर्णयको स्वागत गर्दै प्रभावकारी कार्यान्वयनमा जोड दिएका छन्।



