कमल गाउँपालिकामा एचपीभी खोप कार्यक्रम सफलतापूर्वक सम्पन्न

By Dikendra

झापा। कमल गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा विद्यालय केन्द्रित एच.पि.भी. (HPV) खोप कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। पाठेघरको मुखको क्यान्सर रोकथाम गर्ने उद्देश्यले सञ्चालन गरिएको उक्त अभियान गाउँपालिकाभरका विद्यालयमा चरणबद्ध रूपमा सञ्चालन गरिएको थियो।

 

कार्यक्रमअन्तर्गत जम्मा ५०३ जना किशोरी लक्षित रहेकामा ५२८ जना किशोरीलाई खोप लगाइएको छ, जसअनुसार करिब ९९.८९ प्रतिशत कभरेज हासिल भएको स्वास्थ्य शाखाले जनाएको छ। विद्यालय नजाने १० वर्ष उमेर समूहका किशोरी तथा गत वर्ष छुट भएका २६ जना किशोरीलाई समेत खोप सेवा प्रदान गरिएको थियो।

 

गाउँपालिकाभित्रका सामुदायिक तथा संस्थागत गरी ३३ विद्यालयमा खोप कार्यक्रम सञ्चालन गरिएको थियो। अधिकांश विद्यालयमा शतप्रतिशत उपस्थिति तथा खोप कभरेज प्राप्त भएको जनाइएको छ। विद्यालयस्तरको कार्यक्रम सम्पन्न भएपछि अन्तिम दिन सबै स्वास्थ्य संस्थामार्फत पनि खोप सेवा उपलब्ध गराइएको थियो। केही विद्यालयमा १–२ जना अनुपस्थित वा स्वास्थ्य अवस्थाका कारण खोप नलिएको उल्लेख गरिएको छ।

कार्यक्रम अघि अभिभावक तथा विद्यार्थीहरूलाई एचपीभी संक्रमण, पाठेघरको मुखको क्यान्सरको जोखिम तथा खोपको महत्वबारे अभिमुखीकरण गरिएको थियो। स्वास्थ्य शाखा प्रमुख दिपक प्रसाद दहालका अनुसार एचपीभी भाइरस पाठेघरको मुखको क्यान्सरको प्रमुख कारण भएकाले समयमै खोप लगाउँदा भविष्यमा क्यान्सरको जोखिम उल्लेखनीय रूपमा घटाउन सकिन्छ।

 

गाउँपालिका अध्यक्ष तथा खोप समन्वय समिति अध्यक्ष हुकुम सिंह राईले कार्यक्रम सफल बनाउन विद्यालय प्रशासन, शिक्षक, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका तथा अभिभावकहरूको सक्रिय सहयोग प्रशंसनीय रहेको बताउनुभएको छ।

“आजको खोप, भोलिको सुरक्षा” भन्ने सन्देशसहित सम्पन्न उक्त अभियानले गाउँपालिकामा पाठेघरको मुखको क्यान्सर रोकथाम अभियानलाई थप सशक्त बनाएको विश्वास गरिएको छ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय