झापा–५: नेकपा उम्मेदवार रञ्जित तामाङद्वारा ‘भिजन–७’ सार्वजनिक, १७० गौरव आयोजना समेटिने

झापा – नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवार रञ्जित तामाङले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै ‘झापा–५ भिजन–७’ सार्वजनिक गरेका छन्।

दमकमा आइतबार आयोजित पत्रकार सम्मेलनमा उनले ७ प्रमुख भिजन, ३५ मिसन र २१ लक्ष्यसहित योजना सार्वजनिक गरेको जानकारी दिएका छन्।भिजनमा शिक्षा, स्वास्थ्य, कृषि, उद्योग–व्यवसाय, भौतिक पूर्वाधार, रोजगारी, सुशासन, सामाजिक समावेशीकरण, संस्कृति र वातावरणलाई प्राथमिकतामा राखिएको छ।

शिक्षा क्षेत्रमा ८७ सामुदायिक विद्यालयलाई विद्यार्थी र अभिभावकको पहिलो रोजाइ बनाउने, दमक बहुमुखी क्याम्पसलाई दीर्घकालीन रूपमा विश्वविद्यालयमा रूपान्तरण गर्ने, गौरादह र गौरीगन्ज बहुमुखी क्याम्पस तथा गौरादह कृषि क्याम्पसलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरको शैक्षिक हब बनाउने योजना समेटिएको छ।

स्वास्थ्य क्षेत्रमा सुविधा सम्पन्न अस्पताल निर्माण गरी अत्याधुनिक उपचार प्रविधि भित्र्याउने प्रतिबद्धता गरिएको छ। कृषि, उद्योग र व्यवसाय क्षेत्रमा युवालाई उद्यमशीलतामा आकर्षित गर्ने, सहकारीलाई प्रोत्साहन गर्ने र औद्योगिकीकरणमार्फत राष्ट्रिय पुँजी संरक्षण र प्रवर्द्धन गर्ने नीति अघि सारिएको छ।

भौतिक पूर्वाधारतर्फ १८ तले बिजनेस कम्प्लेक्स सञ्चालन, विश्वकै अग्लो बुद्ध मूर्ति निर्माण अध्ययन, औद्योगिक ग्राम स्थापना जस्ता महत्त्वाकाङ्क्षी कार्यक्रम भिजनमा समावेश छन्। आगामी पाँच वर्षभित्र १७० गौरव आयोजना सम्पन्न गर्ने लक्ष्यसहित वडास्तरदेखि क्षेत्रीय स्तरसम्म वार्षिक आयोजना कार्यान्वयन गर्ने योजना तय गरिएको छ।

यो भिजन–पेपरले क्षेत्रीय विकास, रोजगारी र सामाजिक समावेशीकरणलाई केन्द्रविन्दुमा राख्दै निर्वाचनको प्रचार–प्रसारमा नयाँ ऊर्जा थप्ने अपेक्षा गरिएको छ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय