
दमक । गत भदौमा भएको जेनजी आन्दोलनका शहीद श्रीयम चौलागाईंका बुवा गणेश चौलागाईंले झापा–५ मा उम्मेदवारी दिएका नेताहरूको भूमिका बुझेर मात्रै अघि बढ्न मतदातालाई आग्रह गरेका छन्।
नेकपाका उम्मेदवार रन्जित तामाङसँगको भेटका क्रममा उनले एमाले अध्यक्ष केपी शर्मा ओली र रास्वपा वरिष्ठ नेता बालेन शाह को नाम उल्लेख गर्दै ती पात्रहरूलाई जनताले राम्ररी चिन्नैपर्ने बताएका हुन्।
चौलागाईंले जेनजी आन्दोलनका क्रममा भएको हिंसा र नरसंहारलाई स्मरण गर्दै हत्या उक्साउने र हत्या गर्ने दुवै तत्व यही समाजभित्र रहेको दाबी गरे।
“मार्न पठाउने पनि यहीँ छन्, गोली हानेर मार्ने हत्यारा पनि यहीँ छन्। ती दुवैलाई चिन्नुपर्ने जिम्मेवारी जनताकै हो,” उनले आक्रोश व्यक्त गर्दै भने।
उनका अनुसार २३ गतेको घटनापूर्व सामाजिक सञ्जालमार्फत आह्वान गर्ने व्यक्ति र त्यसपछि घटना घट्ने वातावरण बनाउने पात्र दुवै अहिले राजनीतिक रूपमा सक्रिय छन्।उनले अहिले समाजमा लहैलहैको राजनीति हावी भएको भन्दै त्यसप्रति सचेत रहन झापा–५ का मतदातालाई आग्रह गरे।
“देश नै यहीँ छ जस्तो गरेर हिँडिरहेका छन्, तर ती पार्टी र पात्र नचिनेकै कारण यस्ता अवस्था आएको हो,” चौलागाईंले भने। झापा–५ भोलि रणभूमि नबनोस् भन्ने आफ्नो चाहना रहेको उल्लेख गर्दै उनले हिंसा र उत्तेजनाबाट टाढा रहन आग्रह गरे।सो अवसरमा नेकपाका उम्मेदवार रन्जित तामाङ ले जेनजी आन्दोलनका अधुरा सपना पूरा गर्न आफू प्रतिबद्ध रहेको बताए।
उनले शहीदहरूको बलिदानलाई राजनीतिक नारामा मात्र सीमित नगरी सामाजिक न्याय र परिवर्तनमा रूपान्तरण गर्ने प्रतिवद्धता व्यक्त गरे।जेनजी आन्दोलनका शहीदका परिवारबाट आएको यो अभिव्यक्तिले झापा–५ को चुनावी माहोललाई थप संवेदनशील बनाएको छ भने राजनीतिक नेतृत्वको भूमिकाबारे पुनः गम्भीर बहस सुरु भएको छ।



