
विदेश पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा कास्की प्रहरीले दुई जनालाई पक्राउ गरेको जनाएको छ। पक्राउ पर्नेहरुमा पोखरा महानगरपालिका वडा नम्बर १९ लामाचौर बस्ने वर्ष ३४ की कल्पना नहर्की पौडेल र जिल्ला मुगु खप्तड गाउँपालिका वडा नंम्बर ११ घर भई हाल पोखरा ६ बस्ने वर्ष वर्ष २८ का बिरेन्द्र रावत रहेका जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक हरी बहादुर बस्नेतले जानकारी दिए ।
बस्नेतका अनुसार पक्राउ परेका उनीहरुले सामाजिक सञ्जाल फेसबुकमार्फत कुराकानी गरी आफू कानून व्यवसायी रहेको, श्रीमान् पोल्याण्डमा होटल संचालन गरिरहेको र हाल विदेशमा आफ्नो होटलमा किचन हेल्पर, कटिङ, फुड प्याकिङ, चालक, म्यानेजर लगायत विभिन्न कम्पनीमा नेपाली कामदारहरुको माग रहेकाले विदेश पठाइदिन्छु भनी विभिन्न व्यक्तिहरु कुराकानी गरेका थिए ।
कुराकानीपछि कुरा गर्नेहरुलाई उनीहरुले विश्वासमा पारि ११ जना व्यक्तिहरुबाट १० हजारदेखि दुई लाखसम्म मागी कुल १४ लाख ६० हजार उठाएका थिए । विदेश लैजाने भनि पैसा उठाएको तर नलगेपछि उनीहरुका विरुद्ध ठगी गरेको भन्ने जाहेरीपछि प्रहरीले पौडेल र सोही घटनामा संलग्न रावतलाई पक्राउ गरी कास्की जिल्ला अदालतबाट ठगी आपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्टर्सन) मुद्धामा म्याद थप गरी आवश्यक अनुसन्धान कार्य अगाडि बढाएको प्रहरीले जनाएको छ ।



