सिकाइ अनुभव आदान–प्रदान गर्दै कमला मदन आश्रित माविको बनभोज सम्पन्न

कमल, झापा । झापाको कमल गाउँपालिका–२ क्याम्पास्थित कमला मदन आश्रित स्मृति माध्यमिक विद्यालयले शनिबार शिक्षक–शिक्षिका, कर्मचारी तथा विद्यालय व्यवस्थापन समितिको सहभागितामा पारिवारिक बनभोज कार्यक्रम सम्पन्न गरेको छ।

विद्यालय परिवारबीच आपसी सद्भाव, अन्तरक्रिया र अनुभव आदान–प्रदान गर्ने उद्देश्यले उक्त बनभोज कार्यक्रम आयोजना गरिएको हो। मनोरञ्जनसँगै पेशागत सिकाइका अनुभव साझा गर्दै शिक्षक–कर्मचारीबीच आत्मीयता बढाउने लक्ष्य कार्यक्रमको मुख्य उद्देश्य रहेको विद्यालयले जनाएको छ।

शनिबार बिहान विद्यालयको टोली इलाम र मोरङको संगमस्थल नुनसरी खोला (कुइनेटार) पुगेको थियो। सो अवसरमा मनोरञ्जनात्मक गतिविधिसँगै आ–आफ्ना शिक्षण सिकाइका अनुभवहरू आदान–प्रदान गरिएको विद्यालयका प्रधानाध्यापक हिमप्रसाद दाहालले जानकारी दिनुभयो।

शिक्षक यामनारायण प्रधानको नेतृत्वमा आन्तरिक खेलकुद तथा मनोरञ्जनात्मक कार्यक्रम सञ्चालन गरिएको थियो। शिक्षक–शिक्षिका र कर्मचारीहरूबीच म्युजिकल चियर, हाँडीफोर खेल तथा नृत्य प्रतियोगिता सम्पन्न भएको थियो।

खेल तथा नृत्य प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने शिक्षक– शिक्षिकाहरुलाई विद्यालय व्यवस्थापन समितिका अध्यक्ष होमबहादुर बराल र प्रधानाध्यापक हिमप्रसाद दाहालले नगद पुरस्कार वितरण गर्नुभएको थियो।

कार्यक्रममा विद्यालयका पूर्व प्रचार्य पुस्ता राई, पत्रकार उमानाथ भण्डारी, अनिल देव राईलगायतको उपस्थिति रहेको थियो।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष होमबहादुर बरालले विद्यालयमा दैनिक रूपमा कक्षाकोठामा पुगेर विद्यार्थीप्रति समर्पित भएर कार्यरत शिक्षक–शिक्षिका तथा कर्मचारीहरुलाई एक दिनको रिफ्रेसमेन्ट गराउने उद्देश्यले बनभोज कार्यक्रम आयोजना गरिएको बताउनुभयो।

मनोरञ्जनात्मक गतिविधिहरुले शिक्षक–शिक्षिका र कर्मचारीहरुलाई अझ जिम्मेवार, ऊर्जाशील र कार्यप्रति प्रतिबद्ध बनाउने विश्वास समेत अध्यक्ष बरालले व्यक्त गर्नुभयो।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय