शिकार खेल्दा भरुवा बन्दुक पड्किँएर एक जनाको मृत्यु

मकवानपुर। मकवानपुरको मनहरी गाउँपालिका–६ स्थित सिस्नेरी पखेरा जंगलमा सिकार खेल्ने क्रममा भरुवा बन्दुक पड्किँदा एक जनाको मृत्यु भएको छ। शुक्रबार दिउँसो सिकार खेल्न जंगल गएका दुई साथीमध्ये एकजनाको भरुवा बन्दुक अचानक पड्किँदा अर्का साथीको मृत्यु भएको हो।

मृत्यु हुनेमा मनहरी गाउँपालिका–६ बालुभञ्ज्याङ बस्ने ५० वर्षीय सेते थिङ रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीका अनुसार शुक्रबार दिउँसो २ बजेको समयमा राक्सिराङ गाउँपालिका–८ राजराङ्ग बस्ने ४५ वर्षीय गोपाल ब्लोन र मृतक थिङ एक-एक थान भरुवा बन्दुक बोकेर सिकार खेल्न जंगल गएका थिए।

प्रवक्ता बोगटीका अनुसार जंगलमा हिँड्ने क्रममा अगाडि रहेका गोपाल ब्लोनको खुट्टा लहरामा अल्झिएर लड्न पुग्दा उनीसँग रहेको भरुवा बन्दुक अचानक पड्किएको थियो। सोही बन्दुकको गोली पछि-पछि आइरहेका साथी सेते थिङलाई लाग्दा उनको घटनास्थलमै मृत्यु भएको थियो।

घटना लगत्तै गोपाल ब्लोनले अपराह्न ४:४० बजे ईलाका प्रहरी कार्यालय मनहरीमा जानकारी गराएका थिए। सूचना पाएलगत्तै ईलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरी टोलीले घटनास्थलबाट २ थान भरुवा बन्दुक बरामद गरेको छ।

हाल गोपाल ब्लोनलाई ईलाका प्रहरी कार्यालय मनहरीले नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ। घटनास्थल प्रहरी चौकी सुनाचुरीबाट करिब २० किलोमिटर उत्तर र ईलाका प्रहरी कार्यालय मनहरीबाट ३५ किलोमिटर उत्तर-पश्चिममा पर्छ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय