
झापा । झापाको कन्काई नगरपालिका–८, खाडीबस्तीस्थित भित्री सडकखण्डमा तीन सवारी एकापसमा जुध्दा एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन्।
सोमबार साँझ करिब ५:४० बजे राजगढबाट लक्ष्मीपुरतर्फ आउँदै गरेको मे ९ प ४६९१ नम्बरको मोटरसाइकल, लक्ष्मीपुरबाट राजगढतर्फ जाँदै गरेको प्र.१–०१–०१२ प ८५६५ नम्बरको मोटरसाइकल र सोही दिशाबाट आउँदै गरेको प्र.१–०१–००१ ह ९७६० नम्बरको अटो एकअर्कामा ठोक्किएका थिए।
दुर्घटनामा ४६९१ नम्बर मोटरसाइकलका चालक बाह्रदशी–५ का ३३ वर्षीय जयनारायण हजाम, पछाडि सवार बाह्रदशी–३ का २४ वर्षीय विकास राजवंशी, र ८५६५ नम्बर मोटरसाइकलका चालक बाह्रदशी–७ का २४ वर्षीय भूपेश राजवंशी घाइते भएका थिए।
घाइते तीनैजनालाई बिर्तासिटी अस्पताल, बिर्तामोडमा भर्ना गरिएको थियो। उपचारकै क्रममा बुधबार बिहान ११:५५ बजे विकास राजवंशीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
अटो चालक कनकाई–८ का ४१ वर्षीय अमरकुमार राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय बिर्तामोडले आवश्यक कानुनी प्रक्रिया अघि बढाउँदै मृतकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाएको जनाएको छ।
प्रहरीका अनुसार दुर्घटनामा संलग्न तीनै सवारी साधन नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको छ।



