
२०८२ मंसिर २३
विराटनगर । झापा, मोरङ र सुनसरीका विभिन्न स्थानबाट सोमबार प्रहरीले छुट्टाछुट्टै कारवाही गर्दै अवैध लागू औषध सहित ४ जनालाई पक्राउ गरेको छ।
झापाको इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका दमक–१ का रोशन भुजेललाई चेकजाँच गर्ने क्रममा १ ग्राम २९ मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ।
त्यसैगरी, मोरङको इलाका प्रहरी कार्यालय पथरीले उर्लाबारी–३ का पंकज पोखरेललाई ६१० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ।
सुनसरीमा भने अस्थायी प्रहरी पोस्ट तिनकुनेले धरान–४ की प्रमिला राईलाई चेकजाँच क्रममा १०० क्याप्सुल ट्रामोल र १०० ट्याब्लेट स्पास्पेन सहित नियन्त्रणमा लिएको छ। सोही घटनाको अनुसन्धान गर्दै जाँदा कारोबारमा संलग्न धरान–८ का ६६ वर्षीय टेकबहादुर तामाङलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ।
तामाङको कोठाबाट प्रहरीले ट्रामोल १,०२० क्याप्सुल, स्पास्पेन १,०१० ट्याब्लेट, र नगद रु. एक लाख ४७ हजार ६ सय बरामद गरेको छ।
पक्राउ परेका सबैजनामाथि प्रहरीले आवश्यक कानुनी प्रक्रिया अघि बढाउँदै थप अनुसन्धान जारी राखेको जनाएको छ।



