
विवादास्पद सीमा क्षेत्रमा सैनिकहरूबीच फेरि भिडन्त भएपछि थाईल्यान्डले क्याम्बोडियाविरुद्ध हवाई आक्रमण गरिएको बताएको छ।
थाई सेनाका अनुसार क्याम्बोडियाली पक्षले सोमवार बिहान गोली प्रहार गर्दा एक सैनिकको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन्। क्याम्बोडियाले थाई सैनिकहरूले आक्रमण गरेको तर आफूले जबाफ नदिएको दाबी गरेको छ।
थाईल्यान्डको उत्तरपूर्वी भेगमा अवस्थित सिसाकेत र उबोन राचथानी प्रान्तमा अनि क्याम्बोडियाका सीमावर्ती प्रान्त प्रेय विहिअर र ओदार मिअन्चेमा भिडन्त भएको विवरण प्राप्त भएको छ।
केही महिनाअघि मलेशिया र अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको मध्यस्थतामा थाईल्यान्ड र क्याम्बोडियाले युद्धविराम गरेका थिए। तर दुवै पक्षले एकअर्कालाई उक्त सहमति उल्लङ्घन गरेको आरोपप्रत्यारोप गरेका छन्।
सीमा विवाद चर्किएपछि गत जुलाई महिनामा दुई देशबीच पाँच दिन युद्ध भएको थियो। उक्त युद्धमा कम्तीमा ४८ जनाको मृत्यु भएको थियो भने झन्डै तीन लाख मानिस विस्थापित भएका थिए।
थाई प्रधानमन्त्रीले आफ्नो देशले “कहिल्यै हिंसा नचाहेको” तर “देशको सार्वभौमिकता रक्षा गर्न आवश्यक उपाय गर्ने” बताएका छन्। सोमवार आयोजित प्रेस सम्मेलनमा अहिले सीमामा उत्पन्न समस्या झेल्न उनले थाई जनतालाई “सरकार र सेनाप्रति विश्वास गर्न” आह्वान गरेका छन्।
क्याम्बोडियाका भूतपूर्व प्रधानमन्त्री हुन सेनले थाई “अतिक्रमणकारीहरूले सबै खालका अस्त्र प्रयोग गरेर क्याम्बोडियालाई प्रतिकार गर्न” उकास्न खोजेको टिप्पणी गरेका छन्।
सोमवार बिहान फेसबुकमा एउटा पोस्ट लेख्दै उनले थाईल्यान्डले युद्धविराम र दुई पक्षले अक्टोबरमा जारी गरेको संयुक्त घोषणापत्र उल्लङ्घन गरेको आरोप लगाए।



