
धुलिखेल, काभ्रे । काठमाडौं विश्वविद्यालय (KU) ले सोमबार पत्रकार सम्मेलन गरी ३९औं (३१औं ब्याचको) दीक्षान्त समारोहको पहिलो चरण आगामी मंसिर २४ गते बुधबार विश्वविद्यालयको धुलिखेलस्थित केन्द्रीय परिसरमा आयोजना हुने जानकारी दिएको छ।
बिहान ११ बजे सुरु हुने समारोहको अध्यक्षता प्रधानमन्त्री तथा कुलपति सुशीला काकीले गर्नेछिन् भने शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री तथा सहकुलपति महावीर पुन विशेष उपस्थितिमा रहनेछन्। नयाँ दिल्लीस्थित जवाहरलाल नेहरु विश्वविद्यालय (जेएनयू) का कुलपति प्रा. सान्तीथी धलिपडी पण्डित प्रमुख अतिथिको रूपमा सहभागी भई दीक्षान्त सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
समारोह रजिस्ट्रार प्रा. डा. राजीव श्रेष्ठले सञ्चालन गर्नेछन् भने उपकुलपति प्रा. डा. अच्युत वाग्लेले स्वागत मन्तव्य दिनेछन्।
यस वर्ष विभिन्न स्कुलहरूबाट गरी २,२९० विद्यार्थी दीक्षित हुँदैछन्। तीमध्ये सबैभन्दा धेरै ८८१ विद्यार्थी स्कुल अफ मेडिकल साइन्सेजमा रहेका छन्। कुल दीक्षितमध्ये १,१५४ पुरुष र १,०५५ महिला छन्।
यसबाहेक १७ देशका १९६ विदेशी विद्यार्थीले पनि यसपटक उपाधि प्राप्त गर्नेछन्। यस वर्ष विश्वविद्यालयले पहिलोपटक स्कुल अफ साइन्सअन्तर्गत MPhil by Research in Mathematics, Bachelor of Science in Agriculture, र स्कुल अफ मेडिकल साइन्सेजअन्तर्गत Master of Medical Research कार्यक्रमबाट पनि विद्यार्थी दीक्षित गर्दैछ।
समारोहसहित अहिलेसम्म KU बाट दीक्षित विद्यार्थीको संख्या ५० हजार ४० पुगेको छ, जसमा ५ हजार ८६० विदेशी विद्यार्थी छन्, जुन कुलको झण्डै १२ प्रतिशत हो।
दीक्षान्तमा उत्कृष्टता हासिल गर्ने विद्यार्थीहरूलाई स्वर्णपदक प्रदान गरिने विश्वविद्यालयले जनाएको छ। चान्सलर स्वर्णपदक Ms. Maite Castellano Menchaca ले प्राप्त गर्नेछिन्।
MBBS कार्यक्रमको सर्वोत्कृष्ट विद्यार्थीमा गौरव सिंह साउद,
MBA मा अरुणा द्वयांची र सौगत दगान, MBBS तर्फ लुम्बिनी मेडिकल कलेजकी रक्षा तिवारी, BBA Honors को उत्कृष्ट छात्रा पनि उनी नै, र BBM–LL.B कार्यक्रमतर्फ आन्सा रेग्मी उत्कृष्ट चयन भएका छन्।
समारोहमा उपाधि वितरणसँगै उत्कृष्ट विद्यार्थीलाई स्वर्णपदक प्रदान गरिने जानकारी विश्वविद्यालयका प्रवक्ता डा. उदय प्याकुरेलले सोमबार आयोजित पत्रकार सम्मेलनमार्फत दिएका छन्।



