
मलेसिया, सेलेङ्गोर — सेलेङ्गोर राज्यमा पर्ने सेलायाङ बारु क्षेत्रमा गएको राति संयुक्त प्रहरी तथा इमिग्रेशन टोलीले ठूलो स्तरको कारबाही सञ्चालन गरेको छ। ‘स्पेसल अपरेशन’ नामक सो अभियानमा ८४३ जना अवैधानिक विदेशी नागरिक पक्राउ परेका छन्, जसमध्ये १०२ जना नेपाली समेत रहेका छन्।
अभियान क्रममा पक्राउ परेका मध्ये ३५ जना महिला रहेको सेलेङ्गोरका मुख्यमन्त्री तथा राज्य सुरक्षा समितिका अध्यक्ष दातुक सेरी अमिरुद्दिन शाहरीले जानकारी दिएका छन्। उनका अनुसार पक्राउ परेकाको उमेर २१ देखि ५३ वर्ष सम्मको छ।
अभियानबारे मुख्यमन्त्रीले भने,
“सडक किनारमा अनधिकृत व्यापार, विदेशीहरूको अत्यधिक भीड तथा समुदायका उजुरीहरूका आधारमा ठूलो स्तरमा कारबाही गर्नुपरेको हो।”
सुरक्षा निकायका अनुसार सो क्षेत्रमा विदेशी कामदारहरूको बढ्दो सर्वसाधारण भीड, सडकछेउमै व्यवसाय सञ्चालन तथा अवैध गतिविधि बढेको गुनासो आएपछि अभियान व्यापक रूपमा सञ्चालन गरिएको हो।
पक्राउ परेकाहरूको विवरण :
नेपाल – १०२
म्यान्मार – ६४७
बंगलादेश – ७९
इन्डोनेसिया – १५
भारत – १०
हाल पक्राउ परेकाहरूलाई थप अनुसन्धान तथा कानूनी प्रक्रियाका लागि इमिग्रेशन विभागको हिरासतमा राखिएको छ।




