
मोरङ । असोज पहिलो साता हत्या भएकी मोरङ लेटाङ नगरपालिका – २ फडानीकी १३ वर्षीया अंशु गौतमका हत्यारा पक्राउ परेका छन्। उनको हत्यामा संलग्न भएको आरोपमा मोरङ प्रहरीले बिचारी भनिने पदम अधिकारीलाई पक्राउ गरेको छ ।
अधिकारी अंशुका छिमेकी भएको प्रहरीले जनाएको छ । असोज २१ गते घरबाट हराएकी अंशुको शव १८ दिनपछि लेटाङ र बेलबारीको सिमानामा पर्ने बेलबारी–चिसाङ साझेदारी सामुदायिक वनभित्र कुहिएको अवस्थामा फेला परेको थियोे ।
स्थानीयले घाँस काट्न जाँदा सव देखेर प्रहरीलाई खबर गरेका थिए । अंशुको शव टाउको र शरीर छुट्टिएको अवस्थामा भेटिएको थियो । अंशुको बलात्कार पछि धारिलो हतियार प्रयोग गरी हत्या गरेको त्यसबेला प्रहरीले जनाएको थियोे । घटनास्थलमा अंशुले लगाएका ट्राउजर र हाफपाइन्ट फुकालिएको अवस्थामा भेटिएको थियोे ।
अंशु लक्ष्मी माध्यमिक विद्यालयकी कक्षा ५ मा अध्ययनरत थिइन् । अंशुको शवको पोष्टमार्टम बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको थियोे । पोष्टमार्टम रिपोर्टमा उनको हत्या भएको खुलेको थियोे । सोही रिपोर्टको आधारमा प्रहरीले अपराधीको खोजी गरिरहेको थियोे ।
अधिकारी उनकै घरबाट पक्राउ परेका हुन् । उनी भारत आसामको तीनसुकिया स्थित कोइलाखाँदमा यतिका दिनसम्म लुकेर बसेका थिए ।
हिजो घर फर्किएका अधिकारी सूचना प्रहरीले पाएपछि गएराति पक्राउ गरेको अंशुका परिवारलाई उधृत गर्दै गौतम समाज झापाका अध्यक्ष नीतिरमण गौतमले बताउनुभयो। घटना लगत्तै अघिकारी बेपत्ता भएका थिए ।आसम पुगेका अधिकारीलाई उनको परिवार र छिमेकीले फोन गरेर घर आउन भनेका थिए ।
त्यसपछि अधिकारी घर आएर एकदिन लुकेर बसेका थिए । अधिकारीले आफूले बलात्कार गरेपछि हत्या गरेको स्वीकारेको बताइएको छ ।
अंशुले त्यसबेला रुदै बलात्कारको घटना सार्वजनिक गरिदिने बताएपछि घरबाट धारिलो हतियार ल्याएर आफूले हत्या गरेको र जंगलमा लगेर शव फालेको अधिकारीले प्रारम्भीक बयान दिएका छन् । हत्यामा प्रयोग भएका हँसिया र खुकुरीको बिँड घटना स्थल नजिकै जलाएको र हतियार घरभित्र ( मचानमा ) लगेर लुकाएको बताएका छन् ।
त्यस लगत्तै अधिकारी आसाम भागेको खुलेको छ । ती हतियार प्रहरीले बरामद गरिसकेको छ । अधिकारी विरुद्ध हिजो नै अंशुका बुबा नवीन गौतमले मोरङ प्रहरीमा किटानी जाहेरी दिनु भएको छ ।
अधिकारीलाई आज १० बजे मोरङ प्रहरीले सार्वजनिक गर्दैछ । अंशुको आज धार्मिक संस्कार अनुसार सदगती गरिने परिवारले जनाएको छ ।



