
२०८२ मंसिर, १८
मोरङ । मोरङको विराटनगर महानगरपालिका–१७ मटेरुवा क्षेत्रमा स्रोत नखुलेको अवैध रकमसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
कोशी प्रदेश प्रहरी कार्यालयको प्रादेशिक अनुसन्धान समूह (PIT) ले मंसिर १७ गते चेकजाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ आउँदै गरेको को २४ प ७९८४ नम्बरको मोटरसाइकल रोकेर चालकलाई परीक्षण गरेको थियो।
पक्राउ परेका व्यक्ति विराटनगर महानगरपालिका–१८ निवासी रवि शाह रहेको प्रहरीले जनाएको छ। उनले साथमा लुकाइ–छिपाई राखेको ६ लाख ४९ हजार ५ सय रुपैयाँ फेला परेको हो।
शाहलाई नियन्त्रणमा लिएर उनको सम्बन्धमा थप अनुसन्धान कार्य इलाका प्रहरी कार्यालय, रानीबाट अघि बढाइएको प्रहरीले जनाएको छ।



