
२०८२, मंसिर १७, मोरङ । मोरङको धनपालथान गाउँपालिका–१ गडेरीया क्षेत्रमा बेवारिसे अवस्थामा ठूलो परिमाणमा प्रतिबन्धित औषधी ट्रामोल फेला परेको छ। प्रहरीले २९ हजार ६८० क्याप्सुल बरामद गरेको हो।
विशेष सूचनाका आधारमा मंसिर १६ गते प्रहरी चौकी गडेरीयाबाट खटिएको टोलीले गाउँपालिका–१, गडेरीया टोलस्थित बाँसको झ्याङभित्र २ वटा झोलामा लुकाइराखिएको अवस्थामा क्याप्सुल भेटिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार बरामद लागूपदार्थसँग सम्बन्धित व्यक्ति वा समूहको पहिचानका लागि खोजतलास र थप अनुसन्धान जारी छ।
यसैबीच, चेकजाँचका क्रममा सुनसरीको अस्थायी प्रहरी बिट जोरसखुवाले धरान–१३ बाट २७६ चक्की ट्रामोल सहित एक जनालाई पक्राउ गरेको छ।





