
२०८२ मंसिर १७, काठमाडौँ । नेपाल–चीन व्यापारका लागि महत्त्वपूर्ण मानिने उत्तरी नाका रसुवागढी छिट्टै सञ्चालनमा आउने भएको छ । गत असार २४ गते चीनतर्फबाट आएको बाढीले मितेरी पुल बगाएपछि यो नाका पाँच महिनायता अवरुद्ध छ । हाल चीन सरकारले निर्माण गरिरहेको बेलिब्रिजको काम अन्तिम चरणमा पुगेसँगै नाका पुनः खुल्ने निश्चित भएको हो ।
उता, रसुवा र तातोपानीको विकल्पका रूपमा प्रयोग भएको मुस्ताङको कोरोला नाका भने अब बन्द हुने चरणमा छ ।
रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी ध्रुवप्रसाद अधिकारीका अनुसार बेलिब्रिज निर्माण कार्य सम्पन्न हुने चरणमा छ । यही डिसेम्बर ५ देखि नाका सञ्चालनमा आउने चर्चा चले पनि अधिकारीले ठ्याक्कै मिति भने तय भइनसकेको स्पष्ट पारेका छन् ।
उनले भने, ‘अहिले निर्माण सम्पन्न हुने चरणमा छ । निर्माण सकिएपछि यसको प्राविधिक भारवाहन क्षमता (लोड क्यापासिटी टेस्ट) परीक्षण हुन्छ । परीक्षण सफल भएपछि मात्र चिनियाँ पक्षले नेपाल सरकारलाई पुल हस्तान्तरण गर्छ ।’
पुल हस्तान्तरणपछि नेपाल र चिनिया अधिकारीबिच हुने समकक्षी बैठकले नाका सञ्चालनको आधिकारिक मिति तय गरी सञ्चालन हुने उनको भनाइ छ । यसकारण केही समय लागे पनि अहिले पुल निर्माण अन्तिम चरणमा रहेको र शीघ्र सञ्चालनमा ल्याउने गरी काम भइरहेको सहायक सीडीओ अधिकारीले जानकारी दिए । बाढीका कारण मितेरी पुल क्षतिग्रस्त भएपछि चिनियाँ पक्षले आफ्नै लगानी र प्रविधिमा यो बेलिब्रिज बनाएको हो ।
यस्तै गल्छी त्रिशूली मैलुङ स्याफ्रुबेँसी रसुवागढी सडक योजनाका सूचना अधिकारी इन्जिनियर अमरेन्द्र कुमार यादवले पनि बेलिब्रिज अन्तिम चरणमा पुगेको बताए । तर बेलिब्रिज कहिले सञ्चालनमा आउँछ भन्नेबारे चिनिया पक्षले आधिकारिक जानकारी दिइनसकेको उनको भनाइ छ ।
चाडपर्वको मुखमा रसुवा र तातोपानी नाका लामो समय बन्द हुँदा दसैँ–तिहारका लागि खरिद गरिएका अर्बौं मूल्य बराबरका सामग्री तिब्बतमै रोकिँदा नेपाली व्यवसायीहरू ठुलो आर्थिक संकटमा परेका थिए ।
स्याफ्रुबेँसी–रसुवागढी सडक विस्तारको लागि सरकारले बाटो खुला गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले चीन सरकारको अनुदान सहयोगमा बिस्तार हुने यो सडक खण्डमा निकुञ्जको जग्गा अस्थायी रूपमा प्रयोग गर्न दिने र निर्माण सामग्रीको दस्तुरमा छुट दिने निर्णय गरेको छ ।
यसका साथै छिट्टै विस्तार अघि बढ्ने यसपछि यो सडकले रसुवागढी नाकाबाट हुने नेपाल–चीन व्यापारलाई दीर्घकालीन रूपमा सहज बनाउन महत्त्वपूर्ण योगदान गर्ने अपेक्षा गरिएको छ ।



