
विराटनगर । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको नेतृत्वमा हालै निर्वाचन आयोगमा दर्ता भएको ‘श्रम संस्कृति पार्टी’ ले आफ्नो प्रारम्भिक घोषणापत्र र मुख्य एजेन्डा सार्वजनिक गरेको छ। साम्पाङ नेतृत्वको नयाँ राजनीतिक परियोजनाले विद्यमान राजनीतिक, शैक्षिक, प्रशासनिक तथा आर्थिक संरचनामा आमूल परिवर्तन गर्ने महत्त्वाकांक्षी प्रस्तावहरू अघि सारेको हो।
पार्टीका अध्यक्ष साम्पाङले परम्परागत राजनीतिक दलहरूको विकल्पमा श्रम, उत्पादन र पारदर्शी शासन लाई केन्द्रमा राख्दै नयाँ राजनीतिक संस्कारको सुरुवात गर्ने घोषणा गरेका छन्। केन्द्रीय प्रवक्ता सत्य घले गुरुङले जारी गरेको विज्ञप्तिअनुसार घोषणापत्रले शासकीय स्वरूप, शिक्षा, राष्ट्रियता, सुशासन र अर्थतन्त्र मा ठूला परिवर्तनको खाका प्रस्तुत गर्दछ।
- शासकीय संरचना परिवर्तनको प्रस्ताव
घोषणापत्र अनुसार वर्तमान संसदीय प्रणालीले अस्थिरता निम्त्याएको भन्दै प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र उपराष्ट्रपति व्यवस्था लागू गर्ने योजना छ। समावेशी सिद्धान्तअनुसार दुवै पद फरक लिङ्ग र जाति बाट हुनुपर्ने बाध्यात्मक व्यवस्था प्रस्ताव गरिएको छ।
पार्टीको मूल सिद्धान्त ‘हर्कवाद’ रहेको छ, जसले प्रकृति, संस्कृति र प्रविधिको सन्तुलन तथा अनिवार्य श्रम र श्रमदानलाई सामाजिक-आर्थिक रूपान्तरणको आधार मान्दछ।
- सांसदलाई मन्त्री बन्न रोक
सांसदहरूको मुख्य भूमिका कानुन निर्माण मात्र हुने र मन्त्री बन्न सम्बन्धित क्षेत्रका विज्ञ हुनुपर्ने व्यवस्था प्रस्ताव गरिएको छ। यदि कुनै सांसद मन्त्री बनेमा उसको सांसद पद स्वतः निलम्बन हुनेछ।
साथै, निर्वाचन प्रणालीलाई पूर्ण समानुपातिक बनाइने र जनसंख्या आधारमा प्रतिनिधित्व सुनिश्चित गरिने उल्लेख छ।
शिक्षा क्षेत्रमा पार्टीले नौलो नीति अघि सारेको छ—
हप्तामा ३ दिन सैद्धान्तिक पढाइ
४ दिन उत्पादन, सीप र साहित्य सिर्जना
१२ कक्षासम्म खाना पकाउने र लुगा सिउने सीप अनिवार्य
१२ पासपछि अनिवार्य सैनिक तालिम, त्यसपछि मात्र उच्च शिक्षा
शिक्षकलाई राजनीतिक सदस्यता वा गतिविधिमा पूर्ण प्रतिबन्ध
- राष्ट्रियता र सुरक्षा
पार्टीले राष्ट्रियतामा कडा नीति लिएको छ—
नेपालमा क्रियाशील सबै आईएनजीओ खारेज
सीमा सुरक्षामा नेपाली सेना खटाइने
सीमा अतिक्रमण “पूर्ण रूपमा रोक्ने” घोषणा
विदेशी पति/पत्नीले ५ वर्ष बसोबास + पुरानो नागरिकता त्यागसहित मात्र नागरिकता
- आर्थिक नीति : ‘वैज्ञानिक कर प्रणाली’
घोषणापत्रमा उल्लेख मुख्य आर्थिक एजेन्डाहरू—
धनी वर्गबाट बढी कर, गरिबलाई सहुलियत
‘श्रमदान अभियान’लाई राष्ट्रिय नीति बनाइने
एक गाउँ एक उद्योग, एक घर एक स्वरोजगार
विदेशी लगानी बिनासर्त मात्र स्वीकार
सरकारी खर्चमा तीव्र मितव्ययिता अपनाइने
- सुशासन र पारदर्शिता
सरकारी कर्मचारीले गल्ती गरे सिधै बर्खास्त गर्न सकिने
पत्रकार, कर्मचारी र न्यायालय गैरराजनीतिक बनाइने
सबै सरकारी बैठकहरूको प्रत्यक्ष प्रसारण
‘जेन–जी गुनासो आयोग’ गठन गर्ने प्रस्ताव
धर्म परिवर्तनमा कसैको करकाप नहुने कडा नीति
धरानका स्वतन्त्र मेयरका रूपमा चर्चित साम्पाङले नयाँ घोषणापत्रमार्फत आफू राष्ट्रिय राजनीतिमा वैकल्पिक शक्तिका रूपमा उदाउन चाहेको सन्देश दिएका छन्।



