‘स्वास्थ्य क्षेत्रमा सुधार हाम्रो पहिलो प्राथमिकता’ – अध्यक्ष हुकुमसिंह राई

झापा। जेन–जी आन्दोलनपछिको नयाँ संघीय सरकारसँग भएका उच्चस्तरीय भेट–वार्तालाई परिणाममुखी बनाउँदै कमल गाउँपालिकाले स्वास्थ्य क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गरेको छ।

अध्यक्ष हुकुमसिंह राईको पहलमा स्वास्थ्य मन्त्रालयअन्तर्गत स्वास्थ्य सेवा विभागले प्रदान गरेका अत्यावश्यक तथा आधुनिक स्वास्थ्य सामग्री आज औपचारिक रूपमा कमल नगर अस्पताललाई हस्तान्तरण गरिएको हो।

स्वास्थ्य सेवा विभागबाट मेडिसिन स्टेन २ थान, पेसेन्ट मोनिटर १ थान, पल्स अक्सिमिटर ५ थान र वेल कटर ४ थान प्राप्त भएको हो।

अध्यक्ष राईले यी सामग्रीहरू मे.सु. डा. फुलकेश चन्द्र लावती तथा अस्पतालका स्वास्थ्यकर्मीलाई बुझाउँदै, कमल गाउँपालिकाले स्वास्थ्य सेवा पूर्वाधार मजबुत बनाउन सुरू गरेको अभियानलाई निरन्तरता दिने स्पष्ट प्रतिबद्धता व्यक्त गर्नुभयो।

अस्पताल अवलोकन, ट्रस्ट भवन निरीक्षण र विशेषज्ञ सेवा विस्तारबारे छलफल

सामग्री हस्तान्तरणपछि अध्यक्ष राईले कमल नगर अस्पतालको समग्र अवस्था, सेवा प्रवाह, बिरामीको चाप तथा उपलब्ध सुविधा सम्बन्धी विस्तृत अवलोकन गर्नुभयो।

उहाँले हालै निर्माण सम्पन्न ट्रस्ट भवनको पनि निरीक्षण गर्दै आँखा स्वास्थ्य सेवा, नियमित परीक्षण सेवा तथा आगामी दिनमा विशेषज्ञ सेवा थप विस्तार गर्ने सम्भावनाबारे डा. लावतीसहित चिकित्सक टोलीसँग गहन छलफल गर्नुभयो।

अध्यक्ष राईले गुणस्तरीय उपचार सेवा, सुरक्षित मातृत्व, नियमित खोप तथा दीर्घरोग नियन्त्रण कार्यक्रमलाई अझ प्रभावकारी बनाउँदै स्वास्थ्य क्षेत्रमा दीर्घकालीन सुधार ल्याउने दृढता व्यक्त गर्नुभयो।

मासिक खोप कार्यक्रम अवलोकन — प्रशंसा र सुधार योजना

निरीक्षणक्रममै अध्यक्ष राई कमल–२ मा प्रत्येक महिनाको १५ र १६ गते सञ्चालन हुने नियमित मासिक खोप कार्यक्रममा समेत सहभागी हुनुभयो।

खोप सेवा समयमै, सहज र व्यवस्थित रूपमा सञ्चालन भइरहेको देखेर उहाँले प्रशंसा व्यक्त गर्दै, यस कार्यक्रमलाई अझ प्राविधिक, पहुँचयोग्य र जनमैत्री बनाउने योजना साझा गर्नुभयो।

ल्याब सेवा सुधार तथा भविष्यका स्वास्थ्य पूर्वाधार तर्फ ध्यान

अध्यक्ष राईले अस्पतालमा उपलब्ध ल्याब सेवाको गुणस्तर, आवश्यक जनशक्ति अभाव, उपकरण तथा सेवा विस्तारका चुनौतीबारे अस्पताल प्रशासनसँग छुट्टै बैठक गरेर विस्तृत छलफल गर्नुभयो।

गाउँपालिकाले ल्याब सेवा आधुनिक बनाउन तथा आगामी वर्षहरूमा थप आवश्यक स्वास्थ्य पूर्वाधार निर्माण गर्न संघ र प्रदेश सरकारसँग सुदृढ समन्वय गर्दै जाने प्रतिबद्धता पनि व्यक्त गरिएको छ।

कार्यक्रममा मे.सु. डा. फुलकेश चन्द्र लावती, स्वास्थ्य शाखा प्रमुख बिमल थापा, कमल नगर अस्पताल प्रमुख दिपक दाहाल, ल्याब टेक्निसियन बिपिना श्रेष्ठ तथा अन्य स्वास्थ्यकर्मी र कर्मचारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कमल गाउँपालिकाले स्वास्थ्य क्षेत्रमा अघि बढाएको सेवा विस्तार, संरचनागत सुधार र पूर्वाधार सुदृढीकरणले स्थानीय तहमा सकारात्मक परिवर्तन ल्याउँदै जनविश्वास थप मजबुत पारेको देखिन्छ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय