
२०८२ मंसिर १६, मोरङ — गत भाद्र २४ गते जेनजी प्रदर्शनको क्रममा इलाका प्रशासन कार्यालय रंगेली, रंगेली नगरपालिका तथा विभिन्न सरकारी कार्यालयमा तोडफोड र आगजनी गर्ने घटनामा संलग्न व्यक्तिहरूमाथि मोरङ जिल्ला अदालत, विराटनगरबाट जारी ‘अपराधिक उपद्रो’ मुद्दामा पक्राउ पुर्जीका आधारमा प्रहरीले आठ जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले विशेष खोजतलासका क्रममा सोमबार उनीहरूलाई आफ्नै घर–वतनमा लुकिछिपि बसेको अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ। पक्राउ परेका व्यक्तिहरूलाई जिल्ला प्रहरी कार्यालय मोरङ र इलाका प्रहरी कार्यालय रंगेलीमा ल्याई थप अनुसन्धान जारी छ।
पक्राउ पर्नेहरूमा रंगेली नगरपालिका–३ का भुपाल भण्डारी, रंगेली ७ का आनन्द साह, रंगेली ९ का औषधि पसल व्यवसायी रमेश कुमार मण्डल, रंगेली ३ का रुपक गौतम, रंगेली ६ का रुपेश यादव, कटहरी गाउँपालिका–२ का समिर क्षेत्री, रंगेली २ का दोर्जे प्रतिक तामाङ, जहदा गाउँपालिका–१ का गणपत यादव रहेका छन।
प्रहरीका अनुसार घटनामा संलग्न अन्य व्यक्तिहरूमाथि पनि प्रक्रिया अनुसार छानबिन र कानुनी कारबाही अघि बढाइनेछ।



