पोखरा मेयर धनराज आचार्यको घरमा आगजनी–तोडफोड: रास्वपा सभापतिसहित ४ जना थुनामा

पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको घरमा तोडफोड, आगजनी गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीका वडा सभापतिसहित ४ जना पुर्पक्षका लागि थुनामा गएका छन् । एक जना धरौटीमा रिहा भएका छन् ।

कास्की जिल्ला अदालतका न्यायाधीश हिमलाल बेल्बासेको इजलासले आपराधिक उपद्रव तथा डाँका चोरी मुद्दामा ४ जनालाई पुर्पक्षका लागि थुनामा पठाएको हो ।जेनजी आन्दोलनको दोस्रो दिन २४ भदौमा मेयर धनराज आचार्यको निजी घर, सरकारी गाडीमा आगजनी तथा तोडफोड र लुटपाट भएको थियो । पोखरा महानगरपालिकाको कार्यालयमा तोडफोड तथा आगजनी भएलगत्तै आन्दोलनकारी मेयर आचार्यको नयाँबजारस्थित घरमा पुगेका थिए ।

दिउँसो तोडफोड र लुटपाट गरेर छाडिएको थियो । राति फेरि आन्दोलनकारीले लुटपाट तथा आगजनी गरेका थिए । मेयर आचार्यले चोरी, तोडफोड र आगजनी गर्नेविरुद्ध फोटो, भिडियोसहित किटानी जाहेरी दिएका थिए । जसमध्ये प्रहरीले ५ जनालाई पक्राउ गरी अनुसन्धान गरेको थियो । पुर्पक्षका लागि थुनामा जानेहरूमा राष्ट्रि«य स्वतन्त्र पार्टीका पोखरा महानगरपालिका वडा नम्बर १० का सभापति चन्द्रबहादुर थापा छन् । आगजनीमा उनी संलग्न रहेको भिडियो सार्वजनिक भएपछि रास्वपाले पक्राउ पर्नुअघि नै उनलाई निलम्बन गरेको थियो ।

पुर्पक्षका लागि थुनामा पठाइएकामा ९ मंसिरमा पक्राउ परेका एक जना नाबालक पनि छन् । पोखरा १७ बाट पक्राउ परेकी बिना मल्ल भनिने बिमला सापकोटा, मंसिर ६ गते पोखरा ९ बाट पक्राउ परेका बुद्ध खवास ठकुरी भन्ने चीनबहादुर खवासलाई पनि पुर्पक्षका लागि थुनामा पठाइएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय