
२०८२, मंसिर १४, दमक । लामो समयदेखि सामाजिक सेवामा सक्रिय रोटरी क्लब अफ दमकले आफ्नो १५औँ स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ।
गोर्खा डिपार्टमेन्टको प्राङ्गणमा आयोजित कार्यक्रममा क्लबका अध्यक्ष केशवकुमार अग्रवालको अध्यक्षता रहेको थियो भने
प्रमुख अतिथि दमक नगरपालिकाकी उपप्रमुख रेगिना भट्टराईले कार्यक्रमको उद्घाटन गर्नुभयो।
अध्यक्ष अग्रवालका अनुसार क्लबले हरेक वर्षझैँ यस वर्ष पनि स्थापना दिवसको अवसरमा सामाजिक सेवा अभियानअन्तर्गत रक्तदान कार्यक्रमलाई निरन्तरता दिएको छ।
कार्यक्रममा क्लबका सदस्यहरू, लाइन लाइन अस्पतालका प्रतिनिधि, जीवन चक्र समाजका सदस्य तथा ग्लोबल एजुकेशनल एकेडेमीका विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
नेपाल रेडक्रस सोसाइटी उपशाखा दमकको प्राविधिक सहयोगमा सम्पन्न उक्त कार्यक्रममा कूल ५२ पिन्ट रगत संकलन भएको क्लबले जानकारी दिएको छ।
स्थापना दिवसकै अवसरमा हालैको आन्दोलनका क्रममा क्षति पुगेका इलाका प्रहरी कार्यालय दमक र ट्राफिक प्रहरी कार्यालय दमकलाई क्लबले एक/एक थान कुर्सी र टेबल समेत हस्तान्तरण गरेको छ।
उपप्रमुख रेगिना भट्टराई प्रसाईँ र क्लब अध्यक्ष अग्रवालले उक्त सामग्री ईप्रका दमकका प्रमुख किशोर लम्साल तथा ट्राफिक प्रहरी प्रमुख विजय राईलाई हस्तान्तरण गरेका हुन्।






