
श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरानका मेयर हर्क साङ्पाङले आफू प्रधानमन्त्री बन्ने लक्ष्यसहित नै राजनीतिमा आएको दाबी गरेका छन्। फुङलिङ, ताप्लेजुङमा आयोजित पार्टी घोषणासभालाई सम्बोधन गर्दै उनले विदेशीको इसारामा नचल्ने र आफ्नै स्वाभिमानका आधारमा देश चलाउने उद्देश्य लिएर राजनीतिक यात्रा सुरु गरेको बताए।
साङ्पाङका अनुसार उनका पार्टीमा ‘नेता’ को पद छैन, सबै जना श्रमदाता हुन्। उनले दलभित्र ह्वीप नलाग्ने, तर बोलेको कुरा गलत भए एक दिन पनि पार्टीमा बस्न नपाइने प्रणाली रहने स्पष्ट गरे। पार्टीको मुख्य एजेण्डा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख व्यवस्था रहेको बताए।
विद्यमान राजनीतिको “फोहोर सफा गर्न” मात्रै दल खोलेको दाबी गर्दै साङ्पाङले एमसीसी पास गर्नेहरूलाई विदेशी दलाल भनेका छन्। उर्जामन्त्री कुलमान घिसिङको नयाँ पार्टीलाई इङ्गित गर्दै उनले विदेशी ऋण लिएर बत्ति बाल्नेभन्दा ‘टुकी बालेर बस्नु नै देशभक्ति’ हुने टिप्पणी गरे। उनले कुलमानलाई एमसीसी पासको एक सूत्रपात गरेको व्यक्तिका रूपमा पनि आरोप लगाए।
साङ्पाङले आफ्ना कार्यकर्ताले झण्डा होइन, औजार बोक्ने बताए। पत्रकार, शिक्षक र सरकारी कर्मचारीलाई पार्टी सदस्यता नदिने घोषणा गरे। विद्यालय शिक्षा प्रणालीमा फेरबदल गर्दै हप्ता तीन दिन मात्र पढाइ र बाँकी चार दिन व्यवहारिक शिक्षा केन्द्रित बहुउपयोगी सिकाइ लागू गर्ने योजना उनले प्रस्तुत गरे।
उनको भनाइमा, पार्टी कार्यालय पनि हप्ता तीन दिन मात्र सञ्चालन हुनेछ र पूरा प्रणाली पेपरलेस हुनेछ। पार्टीमा प्रवेश गर्नेहरूलाई माटो छोएर शपथ खुवाइने बताउँदै साङ्पाङले ‘तीन करोड नेपालीका ६ करोड हात एकैसाथ चल्नुपर्छ’ भन्ने नारा दिए। उनले कार्यकर्ताले हप्तामा छ दिन पेटका लागि र एक दिन देशका लागि श्रमदान गर्नुपर्ने नियम लागू हुने समेत बताए।



