‘म छोड्न तयार छु, किन रोकेको ?’– देउवाको गुनासो महाधिवेशन विवादमा

काठमाडौ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले समयमै पार्टीले महाधिवेशन नगरेर आफूले छाड्न नपाएको बताएका छन्।

शनिबार देउवा निवासमा भएको छलफलमा सहभागी एक पदाधिकारीका अनुसार देउवाले आफूले मंसिरमै नियमित महाधिवेशन गर्न चाहेको बताएका थिए।

त्यसै कारण उनले असोज २८ गते उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक तोकेको र समयमै महाधिवेशन गर्ने भनेका थिए।

‘मैले पार्टीको १५ औं महाधिवेशन मंसिरमै गर्नु भनेको हो। तपाईंहरूले किन गर्नुभएन? विधान अनुसार महाधिवेशन गर्ने भनेको मंसिरभित्रै गर्ने भनेको हो। समय नथपी गर्ने भनेको हो। तर अब यो कार्यसमितिको म्याद थप्नैपर्ने भयो। म धेरै म्याद थप्न भने चाहन्नँ, मैले छोड्छु भनिरहेको छु भने मलाई किन तपाईंहरूले सन्तोषले छोड्न दिइराख्नुभएको छैन? मैले छोड्ने भनेको महाधिवेशनबाट हो। छिटो महाधिवेशन गर्नुपर्‍यो,’ देउवाले भनेका कुरा उद्धृत गर्दै ती पदाधिकारीले भने।

उनले थप भने, ‘नियमित महाधिवेशन गरे पनि विशेष महाधिवेशन गरे पनि मैले त छोड्ने हो। तपाईंहरू नै आउने हो। म सभापति छोड्ने मान्छेलाई महाधिवेशन चाहिएको छ। तपाईंहरू आउने मान्छेलाई किन नचाहिएको हो?’

देउवा र खड्काले पछिल्लो तीन दिन नेताहरूसँग लगातार अनौपचारिक कुराकानी गरेर १५ औं महाधिवेशन कार्यतालिकामा लगभग सहमति जुटाएका छन्।

सभापति र कार्यवाहक सभापतिको प्रस्तावमा पुस अन्तिम साता नियमित महाधिवेशन गर्ने विषयमा शनिबारको छलफलमा सहमति जुटेको ती पदाधिकारीले जानकारी दिए।

तर यो प्रस्तावलाई पूर्वउपसभापति विमलेन्द्र निधि र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले सभापति देउवाकै अगाडि अस्वीकार गरेका थिए।

निधि र सिटौलाले फागुन २१ को चुनावअघि महाधिवेशनका पक्षमा बहुमत सदस्यहरू नरहेको जिकिर गरेका थिए। तर देउवाले आफूले मंसिरमै नियमित महाधिवेशन गर्न चाहेको र ढिलोमा पुस मसान्तभित्र महाधिवेशन हुने कुरा बताएको ती पदाधिकारीले जानकारी दिए।

सभापति र कार्यवाहक सभापतिको प्रस्तावमा पुस अन्तिम साता नियमित महाधिवेशन गर्ने गरी केन्द्रीय समितिबाट कार्यतालिका ल्याउने सहमति भएको छ,’ ती पदाधिकारीले भने, ‘महाधिवेशन कार्यतालिकामा कुरा मिले पनि निधि र सिटौलाले असहमति राखेकाले सभापति देउवा पक्षका नेताहरूबीच छलफलको आवश्यकता रहेको भन्दै आइतबार बस्ने भनिएको केन्द्रीय समिति बैठक मंसिर १५ गतेका लागि सारिएको छ।’

सभापति देउवाले आम चुनावमा जाने निर्णय केन्द्रीय समितिले गरिसकेकाले एकताबद्ध भएर जानुपर्ने बताएका थिए।

‘त्यसैले निर्वाचनअघि नै महाधिवेशन गर्ने गरी हामी अघि बढौं, यसका लागि तिथिमिति तय गरौं, क्रियाशील सदस्यता लगायत विषयहरू फास्ट ट्र्याकबाट गर्ने गरी तयारी गरौं, महाधिवेशन पुसभित्रै गर्नुपर्छ,’ सभापति देउवाको भनाइ थियो।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय