
चाहना जोगी, गौरादह । पहिलो पाईला नेपाल गौरादह शाखाको आयोजनामा आकस्मिक वक्तृत्वकला कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। शाखा अध्यक्ष भूपेन्द्र निरौलाको अध्यक्षतामा तथा प्रथम उपाध्यक्ष निशा पौडेलको संयोजकत्वमा प्रगति माध्यमिक विद्यालयको सभाहलमा कार्यक्रम सम्पन्न गरिएको हो। कार्यक्रममा गौरादह–८ का वडाध्यक्ष गणेश कुमार राजवंशी प्रमुख अतिथि रहनु भयो।
कार्यक्रममा प्रदेश प्रमुख सचिवालय सदस्य तथा कार्यक्रमका प्रायोजक धर्मराज गुरागाईं विशिष्ट अतिथि रहनु भयो। साथै प्रगति माध्यमिक विद्यालय व्यवस्थापन समिति अध्यक्ष महावीर राजवंशी, गौरीगञ्ज क्याम्पस प्रमुख तथा प्रगति मावि भूतपूर्व विद्यार्थी समाजका उपाध्यक्ष भक्त भण्डारी लगायतको उपस्थिति रहेको थियो।
प्रतियोगिताको निर्णायकका रूपमा प्रा. चित्रकुबेर डोटेल, अर्विन राजवंशी तथा शिक्षक गोपाल बुढाथोकीले भूमिका निर्वाह गरेका थिए। स्वागत मन्तव्य संस्थाकी सदस्य यमुना खत्रीले प्रस्तुत गरेकी थिइन्। विशिष्ट अतिथि गुरागाईंले समाज रुपान्तरणमा नागरिकको सक्रिय भूमिका आवश्यक रहेको बताउँदै संस्थालाई निरन्तर साथ–सहयोग रहने प्रतिवद्धता व्यक्त गरे।
शिक्षक सान नेपाल र जगत प्रसाईंले संस्थाले शिक्षाको राष्ट्रिय उद्देश्य पूर्तिमा योगदान पुर्याउने खालका कार्यक्रम आयोजना गरिरहेको भन्दै प्रशंसा व्यक्त गरे। क्याम्पस प्रमुख भक्त भण्डारीले विद्यार्थीसहितको प्रतिभा विकासका लागि यस्ता कार्यक्रम अनिवार्य रहेको बताए।
कार्यक्रममा गौरादह नगरक्षेत्रका ११ विद्यालयको सहभागिता रहेको थियो। प्रतियोगितामा इमिनेन्ट कञ्चनजङ्गा माविकी छात्रा विपिसा पाठक प्रथम, जनता मावि गौरादह–१ का छात्र गोविन्द दाहाल दोस्रो र नमुना माविका छात्र सम्पन्न बाबु कोइराला तृतीय भएका छन्।
प्रथम, द्वितीय तथा तृतीय हुने विद्यार्थीलाई क्रमशः नगद ३५००, २५०० र १५०० सहित प्रमाणपत्र प्रदान गरिएको थियो भने सबै सहभागीलाई प्रमाणपत्र वितरण गरिएको थियो। कार्यक्रम प्रायोजक धर्मराज गुरागाईं तथा खाजाको प्रायोजक प्रगति मावि भूतपूर्व विद्यार्थी समाजलाई सम्मानपत्रद्वारा सम्मानित गरिएको थियो।
कार्यक्रममा विभिन्न विद्यालयका शिक्षक, विद्यार्थी, समाजसेवी तथा पहिलो पाईला नेपाल गौरादह शाखाका पदाधिकारी तथा सदस्यहरूको सक्रिय उपस्थिति रहेको थियो। कार्यक्रम संचालकको भूमिका सचिव प्रदीप धमलाले निर्वाह गरेका थिए।





