
२०८२ मंसिर १२
इलाम र मोरङ जिल्लाबाट लागू औषध ब्राउन सुगर तथा विभिन्न प्रतिबन्धित औषधीसहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ।
मंसिर ११ गते इलाम नगरपालिका–७ मा लागू औषध बिक्री वितरण भइरहेको भन्ने विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय इलाम तथा लागू औषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको टोलीले छापा मारेर ८ ग्राम ०७० मिलिग्राम ब्राउन सुगरसहित त्यही स्थानका छिरिङ दोर्जे लामा, इलाम–६ का केशब दाहाल, मौसम राई तथा इलाम–५ का सौरभ लुङ्गेली मगरलाई नियन्त्रणमा लिएको हो।
त्यसैगरी, चेकजाँचका क्रममा मोरङको इलाका प्रहरी कार्यालय पथरीले पथरीशनिश्चरे–४ का तुलाराम देवानलाई प्रतिबन्धित औषधी ट्रामोल २०० क्याप्सुल, डाईजी २०४ ट्याब्लेट र हेल्थी लाइफ ५२ ट्याब्लेटसहित पक्राउ गरेको प्रहरीको भनाइ छ।
पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



