कमलमा विद्यालय स्वास्थ्य जाँचअन्तर्गत आँखा परीक्षण कार्यक्रम शुरु; ३६४ जना विद्यार्थी लाभान्वित

२०८२ मंसिर १०, झापा । विद्यार्थीहरूको स्वास्थ्य सुरक्षालाई प्राथमिकता दिँदै कमल गाउँपालिकाले सञ्चालन गर्दै आएको विद्यालय स्वास्थ्य जाँच कार्यक्रमअन्तर्गत आजदेखि आँखा परीक्षण तथा भिजन स्क्रिनिङ क्याम्प सुरु गरिएको छ।

कार्यक्रम मेची आँखा अस्पताल, सैनिक मोड झापाको प्राविधिक टोलीको सहयोगमा श्री महेन्द्र रत्न माध्यमिक विद्यालय, कमल–२, समयगढबाट आरम्भ भएको हो।

क्याम्पको उद्घाटन गाउँपालिकाका उपाध्यक्ष प्रमिला न्यौपाने तिवारीले गर्नुभयो। उहाँले बालबालिकाको आँखा स्वास्थ्यलाई अत्यन्त महत्वपूर्ण ठान्दै भन्नुभयो, “कमललाई बालमैत्री गाउँपालिका बनाउने लक्ष्यअनुसार विद्यार्थीहरूका आँखासम्बन्धी समस्या पहिचान गर्न र समयमै जाँच–उपचार सुनिश्चित गर्न यो कार्यक्रम सुरु गरिएको हो।”

कार्यक्रममा कमल–२ का वडा सदस्य भिमसिंह कार्की, विद्यालयका प्रधानाध्यापक बालकृष्ण सङ्रौला, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पवनकुमार चाम्लिङ्ग, कमल नगर अस्पतालका प्रमुख दीपक दाहाल, मेची आँखा अस्पतालका फोकल पर्सन युवराज बोहोरा सहित शिक्षक, कर्मचारी, विद्यार्थी तथा अभिभावकको उपस्थिति थियो।

विद्यालयले दिएको जानकारीअनुसार आजको क्याम्पमा ३६४ जना विद्यार्थीको आँखा परीक्षण गरिएको छ। जसमध्ये — ६ जनामा चस्मा आवश्यक, ९ जनामा थप परीक्षण आवश्यक देखिएकाले मेची आँखा अस्पतालमा रिफर गरिएको बताइएको छ।

विद्यालय व्यवस्थापन समितिले मेची आँखा अस्पतालको विशेषज्ञ टोली, कमल नगर अस्पताल तथा स्थानीय समुदाय र अभिभावकलाई सहयोगका लागि धन्यवाद दिएको छ।

वडा सदस्य कार्कीले क्याम्पले विद्यार्थीहरूको आँखासम्बन्धी स्वास्थ्यबारे महत्त्वपूर्ण तथ्य उजागर गरेको उल्लेख गर्दै भविष्यमा अन्य विद्यालयहरूमा पनि यस्ता कार्यक्रम निरन्तर सञ्चालन गरिने विश्वास व्यक्त गर्नुभयो।

विद्यार्थी स्वास्थ्य अभियानलाई विस्तार गर्दै मङ्सिर १२ गते (शुक्रबार) श्री कमला–मदन आश्रित स्मृति माध्यमिक विद्यालयमा अर्को विद्यालय स्वास्थ्य शिविर सञ्चालन हुने जनाइएको छ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय