
विराटनगर । कोशी प्रदेशमा १ लाख ५७ हजार ६१३ नयाँ मतदाता थपिएका छन् । निर्वाचन आयोगले पछिल्लो पटक गत असोज १० देखि मंसिर ५ गतेसम्म थप गरेको मतदाता नामावली दर्ता प्रक्रियामा उनीहरुले मतदाता सुचीमा नाम दर्ता गरेका हुन् ।
जिल्ललामा रहेका निर्वाचन कार्यालयमार्फत प्रत्यक्ष र राष्ट्रिय परिचयपत्रको अभिलेखका आधारमा नयाँ मतदाता थपिएका हुन् । प्रदेश निर्वाचन कार्यालय विराटनगरका अनुसार कार्यालयमै पुगेर फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गर्नेको संख्या ५८ हजार ९२५ छ भने राष्ट्रिय परिचयपत्रको अभिलेखका आधारमा ९८ हजार ६८८ मतदाता थपिएका छन् ।
नयाँ मतदाता नामावली सङ्कलन गर्नुअघि कोशीमा १० सम्म ३४ लाख ३३ हजार ९ सय मतदाता रहेका थिए । अब त्यो संख्या ३५ लाख ९१ हजार ५१३ पुगेको छ ।
नयाँ मतदाता थपिनेमा सबैभन्दा बढी मोरङबाट ४४ हजार ४०२ जनाको नाम दर्ता भएको । त्यसपछि क्रमशः झापाबाट ३५ हजार ३१९, सुनसरीबाट ३२ हजार ३८२ जना नयाँ मतदाता थपिएका छन् । ताप्लेजुङबाट ३ हजार, पाँचथरबाट ४ हजार ३८९, इलामबाट ६ हजार ६४, संखुवासभाबाट २ हजार ८०८, तेह्रथुमबाट ३ हजार ६७७, धनकुटाबाट ३ हजार २७२ मतदाता थपिएका छन् ।
त्यसैगरी, भोजपुरबाट २ हजार ९०९, खोटाङबाट ४ हजार १६२, सोलुबाट ५८०, ओखलढुङ्गाबाट ५ हजार ९३२ र उदयपुरबाट ८ हजार ७१७ मतदाता थपिएका छन् ।



