रौतहटमा घरभित्र गाडिएको अवस्थामा युवतीको शव फेला

काठमाडौँ —रौतहटको वृन्दावन नगरपालिका–९ भुसाहामा घरभित्र गाडिएको अवस्थामा महिलाको शव फेला परेको छ। घटनापछि परिवारका सदस्यहरू फरार छन्। प्रहरीले हत्याको आशंका गर्दै अनुसन्धान अघि बढाएको छ।

भुसाहा गाउँकी २२ वर्षीया तरिमा खातुनको सोमबार राति हत्या गरी शव भुस राख्ने घरभित्र गाडेको अवस्थामा भेटिएको हो। घरपरिवारकै सदस्यबाट खातुनको हत्या भएको भन्दै प्रहरीले अनुसन्धान थालेको जनाएको छ। घटनापछि खातुनका ससुरा शेष अली महम्मदसहित घरका सबै सदस्य फरार रहेको प्रहरीले जनाएको छ। खातुनका श्रीमान् शेख आदिल वैदेशिक रोजगारीका लागि साउदी अरबमा छन्।

मृतक खातुनको टाउको पछाडि धारिलो हतियार प्रहार गरी गहिरो चोट पुगेको छ। उनको दाहिने खुट्टामा नीलडाम भेटिएको प्रहरीले जनाएको छ। हत्या पछि उनको शव घरकै भुस राख्ने गोठमा गाडिएको अवस्थामा प्रहरीले निकालेको छ।

जिल्ला प्रहरी प्रमुख एसपी रबिन कार्कीले ससुरा लगायत परिवारका सबै सदस्य फरार रहेकाले हत्याको कोणबाट अनुसन्धान थालेको बताए। ‘घटनामा संलग्न व्यक्तिहरूमाथि अनुसन्धान थालेका छौँ,’ उनले भने, ‘सबैभन्दा पहिला फरार भएका व्यक्तिको खोजीमा लागेका छौँ। उनीहरू पक्राउ परेपछि यथार्थ खुल्छ।’

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय