
बनेपा । कम्प्युटर एशोसियशन नेपाल महासंघ (क्यान) काभ्रेपलान्चोकको २१औँ वार्षिक साधारणसभा तथा डिजिटल ट्रान्सफर्मेसन अफ बिजनेस एण्ड एआई सूचना प्रविधि कार्यशाला बनेपा–७ स्थित पूर्वाञ्चल क्याफेमा एक विशेष समारोहबीच सम्पन्न भएको छ।
कार्यक्रमको सभापति क्यान काभ्रे शाखा अध्यक्ष देवकी आचार्य रहनु भएको थियो भने प्रमुख अतिथि क्यान महासंघका केन्द्रीय उपाध्यक्ष शेखरनाथ दुलाल हुनुहुन्थ्यो। कार्यक्रमका विशिष्ट अतिथि हेम्पाल श्रेष्ठ रहेका थिए। यस्तै क्यान बागमती प्रदेशका उपाध्यक्ष विकाश पन्त, उद्योग वाणिज्य संघ काभ्रेका महासचिव
रञ्जित पलाञ्चोके, पत्रकार महासंघ काभ्रे अध्यक्ष विनोदकुमार न्यौपाने सहित विभिन्न क्षेत्रका प्रतिनिधिहरूको उपस्थिति थियो।
कार्यक्रमको सञ्चालन क्यानका सचिव राजकुमार (केवल) प्रसाद तिमिल्सिनाले गरेका थिए भने सचिवको वार्षिक प्रतिवेदन पनि उनले नै प्रस्तुत गरेका थिए।
कोषाध्यक्ष श्याम गोपाल श्रेष्ठले वित्तीय प्रतिवेदन प्रस्तुत गरेका थिए । क्यानकि उपाध्यक्ष रिता श्रेष्ठले स्वागत मन्तव्य राखेको कार्यक्रममा प्रमुख अतिथि दुलाल र अध्यक्ष आचार्य संयुक्तरूपमा पानसमा बत्ती बालेर कार्यक्रमको औपचारिक उद्घाटन गरिएको थियो।
कार्यक्रममा क्यान महासंघका केन्द्रीय सदस्य, सूचना प्रविधि विज्ञ हेम्पाल श्रेष्ठले डिजिटल ट्रान्सफर्मेसन के हो, प्रविधिको प्रयोगभन्दा किन फरक छ, व्यवसाय बढाउन आवश्यक रणनीतिक परिवर्तन, आन्तरिक–बाह्य फोर्सहरूको भूमिका, व्यवसाय विफल हुने कारण, हार्डवेयर व्यवसायमा एआईले पुर्याउने सहयोग, स्थानीय व्यवसायका चुनौती, एआईका साधारण तथा व्यवहारिक समाधान, सामाजिक सञ्जाल व्यवस्थापन, मूल्य निर्धारण, स्टक, बिलिङ, रेस्पोन्स, एन्गेजमेन्टलगायतका विषयमा विस्तृत प्रशिक्षण दिएका थिए।
यसका साथै, बिक्री वृद्धि गर्ने योजना र व्यवसायमा आवश्यक डिजिटल टुल्सको प्रभावकारी प्रयोगबारे पनि सहभागीलाइ मार्गदर्शन गरिएको थियो।
प्रमुख अतिथि दुलालले साइबर सेक्युरिटीका मुद्दा र डिजिटल व्यवसायको बढ्दो प्रभावले स्थानीय व्यवसाय ओझेल पर्न थालेको बताउँदै ठूला इ–कमर्ससँग कसरी प्रतिस्पर्धा गर्ने र कसरी कम खर्चमा आफ्नो व्यवसायलाई डिजिटल रूपमा सक्षम बनाउने भन्नेबारे व्यवसायीहरूलाई सचेत हुनुपर्ने आवश्यकता औंल्याए। उनले “व्यवसाय मात्र गरेर हुँदैन, डिजिटल ज्ञान अनिवार्य छ” भन्दै डिजिटल सीप अब प्रत्येक व्यवसायीको प्राथमिकता हुनुपर्ने बताए।
पत्रकार महासंघ काभ्रे अध्यक्ष न्यौपानेले डाटा सुरक्षा प्रत्येक व्यक्तिको पहिलो प्राथमिकता हुनुपर्ने बताउँदै सामाजिक सञ्जालको दुरुपयोगबाट कसरी बच्न सकिन्छ भन्नेबारे जनचेतनामूलक कार्यक्रम आवश्यक रहेको धारणा व्यक्त गरे।
यस्तै उद्योग वाणिज्य संघ काभ्रेका महासचिव पलाञ्चोकेले यश सुचना र प्रविधिले व्यवसाय वृद्धि गर्न सहयोग पुर्याउने विश्वास लिएका छन।
कार्यक्रममा सहभागी व्यवसायी तथा प्रविधि क्षेत्रमा संलग्न व्यक्तिहरूले यस कार्यशालाबाट डिजिटल प्रविधिको व्यवहारिक उपयोगबारे उपयोगी जानकारी प्राप्त गरेको प्रतिक्रिया दिएका छन्।





