इमाडोलमा २१ लाख ८३ हजार बराबरको चाँदीका गहना र नगद चोरी आरोपमा ३ जना पक्राउ

काठमाडौँ । ललितपुरको इमाडोलबाट चाँदीका गहना र नगद चोरेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । कात्तिक १९ मा इमाडोलस्थित एक घरबाट २१ लाख ८३ हजार बराबरको सुनचाँदीको गहना लगायत धनमाल चोरी भएको थियो ।

चोरीमा संलग्न आरोपमा ३ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी चक्रराज जोशीले रातोपाटीलाई बताए ।

पक्राउ पर्नेमा नुवाकोटको विदुर नगरपालिका–१ घर भएर ललितपुर बस्ने ४१ वर्षीय दिनेश विश्वकर्मा, रामेछापको रामेछाप नगरपालिका–२ घर भएर ललितपुर बस्ने ३२ वर्षीय दीपक थापा मगर र रामेछापको दोरम्बा गाउँपालिका–३ घर भएर ललितपुरको महालक्ष्मी नगरपालिका–८ बस्ने ४० वर्षीय तीर्थबहादुर थापामगर छन् ।

आरोपीहरू ललितपुरको महालक्ष्मी नगरपालिका–८ लुभुबाट पक्राउ परेका हुन् । उनीहरू विरुद्ध ललितपुर जिल्ला अदालतबाट म्याद लिएर अनुसन्धान भइरहेको एसपी जोशीले जानकारी दिए । चोरी गरेको चाँदीका गहना खरिद गर्ने खोटाङको रुपाकोट मझुवागढी नगरपालिका–४ घर भएका ५८ वर्षीय भिमे कामीलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

उनले भक्तपुरको लोकन्थलीमा सुनचाँदी पसल सञ्चालन गरेका छन् । प्रहरीले सामान खरिद गर्ने कामीलाई पनि मुद्दामा प्रतिवादी बनाएर अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय