
ताप्लेजुङ । ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–४ साँवामा गएराति आगलागी हुँदा चार घर पूर्णरूपमा जलेर नष्ट भएका छन्। राति करिब १२ बजेतिर सुरु भएको आगलागीले विष्णु साँवा, राजकुमार साँवा, अनिल साँवा र इन्द्रकुमार साँवाका घरहरु जलेर नष्ट भएको मिक्वाखोला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विमल गौतमले जानकारी दिए।
गौतमले नष्ट भएका सबै घरमा होटल तथा विभिन्न प्रकारका पसल सञ्चालन हुँदै आएको बताए। आगलागीका कारण खाद्यान्न, लत्ताकपडा, भाँडावर्तन, पसलमा रहेका सामग्रीदेखि नगदसम्म कुनै पनि सामान निकाल्न नपाईएकाले पूर्ण रूपमा जलेर नष्ट भएको फङ्फङदेन झरना पर्यटन विकास समितिका अध्यक्ष विजय साँवाले जानकारी दिए। उनका अनुसार मध्यराति आगो लाग्दा परिवारका सदस्यले केही पनि बचाउन नसक्ने अवस्था थियो।
यद्यपि आगलागीमा मानवीय क्षति भने नभएको प्रमुख प्रशासकीय अधिकृत गौतलमले बताए। आगो लाग्ने कारण खुल्न बाँकी रहेको र घटनास्थलमा बुधबार बिहानदेखि अनुसन्धान तथा वास्तविक क्षतिको विवरण संकलन सुरु गरिएको गौतमले जानकारी दिए।



