
सोमबार मध्यरातमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई भेट्न गएका ८ जनालाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता पवन भट्टराईले ठूलो भिडभाड र नाराजुलुस गर्दै जिल्ला प्रहरी कार्यालय पुगेका प्रसाईंका केही कार्यकर्तालाई स्क्रिनिङ गर्नको लागि नियन्त्रणमा लिएको बताए।
नियन्त्रणमा लिएका केही व्यक्तिले सामाजिक सञ्जालमा प्रहरी कार्यालय तोडफोड गरेर भए पनि दुर्गा प्रसाईंलाई निकाल्नुपर्छ भन्दै अवाञ्छित सूचना फैलाएका थिए। उनीहरूको आपराधिक रेकर्ड हेर्न र अराजक समूहको निगरानी गर्नको नियन्त्रणमा लिइएको प्रवक्ता भट्टराईले जानकारी दिए।
प्रसाईं पक्राउ गर्नासाथ उनका समर्थकहरू नाराबाजी गर्दै जिल्ला प्रहरी परिसर पुगेका थिए। प्रसाईंलाई छाड्नुपर्ने भन्दै विरोध गरेका थिए। प्रहरीका अनुसार उनीहरूको केही समूहले सामाजिक सञ्जालमा अनेक भ्रामक सूचना फैलाइरहेका छन्।
सोमबार राति पक्राउ परेका प्रसाईंलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले सार्वजनिक शान्तिविरुद्धको कसुरमा अनुसन्धान गर्न हिरासतमा राख्नको लागि चार दिनको म्याद दिएको छ।
म्याद थपका लागि प्रसाईंलाई मंगलबार जिल्ला सरकारी वकिलको कार्यालय हुँदै प्रशासन कार्यालय लगिएको थियो। सो क्रममा प्रसाईंले आफूलाई कुन मुद्दामा पक्राउ गरिएको भन्ने जानकारी नभएको बताएका थिए। राजसंस्था र हिन्दुराष्ट्र पुनस्र्थापना गर्ने आन्दोलन घोषणा गरेका प्रसाईंलाई भड्काउपूर्ण अभिव्यक्ति दिएर सार्वजनिक शान्ति भंग गरेको आरोपमा प्रहरीले पक्राउ गरेको थियो। प्रसाईंलाई पक्राउ गरेको विरोधमा उनका समर्थकले जिल्ला प्रशासन कार्यालय अगाडि नाराबाजी गरेका थिए।



