चितवन राइनोजले कर्णाली याक्सलाई चार विकेटले हराउँदै एनपीएलको शानदार सुरुवात

रबि बोपाराको अर्धशतक अनि सैफ अली जैबको आक्रमक ब्याटिङमा चितवन राइनोजले कर्णाली याक्सलाई चार विकेटले पराजित गर्दै नेपाल प्रिमियर लिगको दोस्रो संस्करणमा विजयी सुरुवात गरेको छ ।

कर्णालीले दिएको १६७ रनको लक्ष्य १९.१ ओभरमा ६ विकेट गुमाएर १७१ रन बनाउँदै चितवनले जित हात पारेको हो ।

चितवनका लागि बोपाराले ३५ बलमा ३ चौका र ३ छक्कासहित सर्वाधिक ५१ रन बनाए । ओपनर दीपक बोहराले ४२ रन जोडे । सैफ अली जैबले १६ बलमा २ चौका र ४ छक्का मद्दतमा ३८ रन जोडे ।

बलिङमा कर्णालीका कप्तान सोमपाल कामीले २ तथा मार्क वाट, युनिश सिंह र युवराज खत्रीले समान एक/एक विकेट लिए ।

चितवनले एनपीएलमा पहिलो पटक कर्णालीलाई पराजित गरेको हो । यसअघि पहिलो संस्करणमा दुवै खेलमा कर्णालीले चितवनलाई पराजित गरेको थियो । लिग चरणमा कर्णाली ५ विकेटले विजयी भएको थियो भने एलिमिनेटरमा २१ रनले विजयी भएको थियो ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कर्णाली याक्सले तीन विकेट गुमाएर १६६ रन बनाएको थियो । ओपनिङ गरेका भारतीय खेलाडी पान्चलले ४८ बल खेल्दै ७ चौका र ६ छक्का प्रहार गरे । पान्चलले पहिलो विकेटका लागि म्याक्स ओ डाउडसँग ६१ रन र दोस्रो विकेटका लागि मार्क वाटसँग ६३ रनको साझेदारी गरे ।

म्याक्स ओ’डाउले २० र मार्क वाटले १६ रन योगदान गरे । पवन सर्राफले १६ बलमा १ चौका र ३ छक्का प्रहार गर्दै अविजित २७ रन बनाए ।

बलिङमा चितवनका सोहिल रनभीर, सैफ जैब र रबि बोपोराले एक/एक विकेट लिए ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय