
काभ्रेपलान्चोक । धुलिखेल अस्पतालमा स्वास्थ्य बीमा अन्तर्गतको रिफर सेवा लिन आउने जेष्ठ नागरिक, दीर्घ रोगी तथा वृद्धावस्थाका बिरामीहरू विगत केही समयदेखि अत्यन्तै कष्टकर अवस्थाबाट गुज्रिन बाध्य छन्। बिहान सबेरैदेखि अस्पतालको आँगनमा लाइन सुरु हुन्छ — कतिपय बिरामीहरू त बिहान ७ बजेदेखिनै लाइनमा उभिन्छन्। तर सेवा भने १० बजेबाट मात्र सुरु हुने भएकाले बिरामीहरू, विशेषगरी शारीरिक रूपमा अशक्त र नियमित औषधि सेवन गर्नुपर्नेहरू, घाम–पानी सहेर घण्टौँसम्म प्रतीक्षा गर्नुपर्ने बाध्यता छ।
अस्पताल प्रशासनका अनुसार दैनिक अधिकतम ८० जनालाई मात्र रिफर सेवा दिने व्यवस्था गरिएको छ। यस सीमित संख्याका कारण लामो समय लाइनमा बसेका कतिपय बिरामीहरू आफ्नो पालो नआएरै निराश हुँदै फर्किनुपर्ने अवस्था देखिन्छ। कतिपयको भनाइमा, स्वास्थ्य बीमा योजना सुचारु रूपमा सञ्चालन गर्ने भनिए पनि सेवा पाउने प्रक्रिया झन् जटिल र समयखपत बन्दै गएको छ।
ABC एफएमका कार्यक्रम प्रस्तोता रमेश दाहालका आमा पनि उपचारका लागि यस्तै लाइनमा दुई दिनसम्म धुलिखेल अस्पताल धाउन बाध्य भए। उहाँले अनुभव सुनाउँदै भन्नुभयो, “बिरामी बुढाबुढीलाई यस्तो लाइनमा बसाउनुपर्ने अवस्था अत्यन्त पीडादायी छ। बीमा सुविधा लिन आउँदा नै यति संघर्ष गर्नुपर्छ भने योजना प्रभावकारी कसरी हुन्छ?”
यस्तै, काभ्रे जिल्लाका क्रान्ति लामाले पूर्वमन्त्री गोविन्दनाथ उप्रेतीका लागि नियमित खाने औषधि लिन दुई दिनदेखि लाइनमा बस्नुपरेको बताए। “जेष्ठ नागरिक र दीर्घ रोगीका लागि सुविधा भनेर ल्याइएको योजना सेवा लिनै गाह्रो हुने बनेको छ। बिहानैदेखि लाइनमा बस्दा पनि पालो नपाएर फर्किनु पर्ने अवस्था आउँछ, यो धेरै पीडादायी छ,” उनले गुनासो गरे।
बिरामी तथा उनीहरूको परिवारले तत्काल सेवा प्रणालीमा सुधार गर्न माग गरेका छन्। उनीहरूको सुझावमा, जेष्ठ नागरिक र दीर्घ रोगीका लागि छुट्टै सहज र प्राथमिकता दिइने काउण्टरको व्यवस्था हुनुपर्ने, रिफर संख्या वृद्धि गर्नुपर्ने, साथै समय व्यवस्थापन प्रभावकारी बनाउनुपर्ने आवश्यकता छ। अन्यथा, स्वास्थ्य बीमा योजना लाभभन्दा बढी झन्झटको पर्याय बन्ने उनीहरूले आक्रोश पोखेका छन्।



