Homeस्थानियकमल–२ मा पूर्ण खोप सुनिश्चितता अभियान अन्तिम चरणमा

कमल–२ मा पूर्ण खोप सुनिश्चितता अभियान अन्तिम चरणमा

Date:

झापा । बालबालिकालाई खोपबाट सुरक्षित बनाउने लक्ष्यसहित कमल गाउँपालिका–२, तोपगाछीमा सञ्चालन गरिएको पूर्ण खोप सुनिश्चितता तथा दिगोपना अभियान अन्तिम चरणमा पुगेको छ।

पाँच वर्षमुनिका कुनै पनि बालबालिका खोपबाट वञ्चित नहोस् भन्ने उद्देश्यका साथ माघ ०२ देखि माघ १० गतेसम्म व्यापक घरधुरी सर्वेक्षण अभियान सञ्चालन भइरहेको छ।

स्थानीय तह, स्वास्थ्य संस्था र समुदायबीचको निरन्तर समन्वय तथा सक्रिय सहभागिताका कारण अभियानले उल्लेखनीय सफलता हासिल गर्दै गएको सरोकारवालाहरूले बताएका छन्।

अभियानअन्तर्गत स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेवक, टोल विकास संस्थाका प्रतिनिधि तथा जनप्रतिनिधिहरूको संयुक्त टोलीले कमल–२ का नौ वटै टोलमा घरदैलो कार्यक्रम सञ्चालन गरिरहेको छ।

टोलीले प्रत्येक घरधुरीमा पुगेर पाँच वर्षमुनिका बालबालिकाको खोप कार्ड परीक्षण, अभिभावकसँग प्रत्यक्ष अन्तरक्रिया तथा छुटेका खोपहरूको पहिचान गर्दै आवश्यक परामर्श प्रदान गरिरहेको छ।

यस क्रममा खोपको समयतालिका, खोप छुट्नुका कारण तथा अब लिनुपर्ने खोपबारे अभिभावकलाई स्पष्ट जानकारी दिइँदै आएको छ।

कमल गाउँपालिकाका अध्यक्ष हुकुम सिंह राईले बालबालिकाको स्वास्थ्य सुरक्षालाई पालिकाको दीर्घकालीन विकाससँग जोडेर हेरिएको बताउनुभयो। उहाँका अनुसार सर्वेक्षणका क्रममा खोपबाट छुटेका बालबालिकालाई तत्काल नियमित खोप केन्द्रमार्फत खोप उपलब्ध गराइनेछ। कमल–२ लाई ‘पूर्ण खोप सुनिश्चित वडा’ घोषणा गर्ने तयारीसँगै आगामी दिनमा पालिकालाई नै पूर्ण खोप सुनिश्चित पालिका घोषणा गर्ने लक्ष्य राखिएको छ।

वडा अध्यक्ष तथा खोप समन्वय समिति (कमल–२) का संयोजक अशोक सुब्बाले हालसम्म वडाका प्रायः सबै घरधुरीमा टोलीको पहुँच पुगिसकेको जानकारी दिनुभयो। उहाँले खोप अभियान बालबालिकाको सुरक्षित भविष्य निर्माणसँग जोडिएको साझा जिम्मेवारी भएको उल्लेख गर्दै अभिभावकसँग प्रत्यक्ष संवादमार्फत खोपको महत्वबारे सचेतना बढाइएको बताउनुभयो।

अभियानका क्रममा समुदायमा फैलिएका खोपसम्बन्धी भ्रमहरू हटाउने कार्य पनि प्रभावकारी रूपमा भइरहेको छ। स्वास्थ्यकर्मीहरूले अभिभावकका जिज्ञासा, डर र शंकालाई सम्बोधन गर्दै खोप सुरक्षित, गुणस्तरीय तथा जीवनरक्षक भएको सन्देश घरघरमै पुर्‍याइरहेका छन्। यसले समुदायस्तरमा स्वास्थ्य सचेतना उल्लेखनीय रूपमा वृद्धि भएको जनाइएको छ।

वडा अध्यक्ष सुब्बाका अनुसार बाँकी केही घरधुरीको सर्वेक्षण छिट्टै सम्पन्न गरिनेछ भने हालसम्म संकलित तथ्याङ्कको विश्लेषण कार्य जारी छ।

कमल नगर अस्पताल प्रमुख दिपक प्रसाद दाहालको नेतृत्वमा स्वास्थ्यकर्मीहरू सक्रिय रूपमा परिचालित छन्। वडा कार्यालय, नगर अस्पताल तथा स्थानीय सरकारबीचको सुदृढ समन्वयका कारण अभियान व्यवस्थित, प्रभावकारी र परिणाममुखी बन्दै गएको सरोकारवालाहरूले बताएका छन्।

नेपाल सरकारले सञ्चालन गरिरहेको राष्ट्रिय खोप कार्यक्रमलाई स्थानीय तहमा प्रभावकारी रूपमा कार्यान्वयन गर्ने नमुना अभ्यासका रूपमा कमल–२ को यो अभियानलाई हेरिएको छ।

अभियान सफलतापूर्वक सम्पन्न भएमा बालबालिकाको स्वास्थ्य जोखिम न्यूनीकरण हुनुका साथै समुदायमा दीर्घकालीन स्वास्थ्य सचेतना विकास हुने अपेक्षा गरिएको छ।

Latest stories

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here