Homeस्थानियकमल–२ मा पूर्ण खोप सुनिश्चितताका लागि व्यापक अभियान

कमल–२ मा पूर्ण खोप सुनिश्चितताका लागि व्यापक अभियान

Date:

झापा। बालबालिकाको दीर्घकालीन स्वास्थ्य सुरक्षा सुनिश्चित गर्ने उद्देश्यसहित कमल गाउँपालिका–२, तोपगाछीमा पूर्ण खोप सुनिश्चितता तथा दिगोपनाका लागि व्यापक घरधुरी सर्वेक्षण अभियान तीव्र रूपमा सञ्चालन भइरहेको छ।

स्थानीय सरकार, स्वास्थ्य संस्था र समुदायबीचको प्रभावकारी सहकार्यका कारण अभियानले सकारात्मक परिणाम देखाउन थालेको छ।

अभियान अन्तर्गत चिकित्सक, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेवक, टोल विकास संस्थाका प्रतिनिधि तथा स्थानीय जनप्रतिनिधि सम्मिलित टोलीले वडाका नौ वटै टोलमा योजनाबद्ध घरदैलो कार्यक्रम सञ्चालन गर्दै पाँच वर्षमुनिका बालबालिकाको खोप अवस्थाको सूक्ष्म अध्ययन गरिरहेको छ।

टोलीले घरघरमै पुगेर खोप कार्डको अवलोकन, अभिभावकसँग प्रत्यक्ष संवाद, छुटेका खोपको पहिचान तथा आवश्यक परामर्श प्रदान गरिरहेको छ।

‘पूर्ण खोप सुनिश्चित वडा’ बनाउने लक्ष्य
कमल गाउँपालिकाका अध्यक्ष हुकुम सिंह राईले बालबालिकाको स्वास्थ्य पालिकाको शीर्ष प्राथमिकता रहेको उल्लेख गर्दै भन्नुभयो,
“खोपबाट कुनै पनि बालबालिका छुट्न नदिनु हाम्रो साझा दायित्व हो। सर्वेक्षणका क्रममा पहिचान भएका छुटेका बालबालिकालाई नियमित खोप केन्द्रमार्फत तत्काल खोपको व्यवस्था गरिनेछ। कमल–२ का सबै बालबालिकाले आवश्यक सम्पूर्ण खोप प्राप्त गरेपछि वडालाई औपचारिक रूपमा ‘पूर्ण खोप सुनिश्चित वडा’ घोषणा गरिनेछ।”

६ सयभन्दा बढी घरधुरीमा पहुँच
कमल नगर अस्पतालका प्रमुख दिपक प्रसाद दाहालका अनुसार हालसम्म अभियानमार्फत ६ सयभन्दा बढी घरधुरीमा प्रत्यक्ष सम्पर्क, १०० भन्दा बढी अभिभावकसँग अन्तरक्रिया तथा खोपबाट छुटेका चार जना बालबालिकाको पहिचान भइसकेको छ।

“खोप केवल सुई लगाउने प्रक्रिया मात्र होइन, यो बालबालिकाको सुरक्षित भविष्यसँग प्रत्यक्ष रूपमा जोडिएको विषय हो,” दाहालले भन्नुभयो, “त्यसैले अभिभावकसँग प्रत्यक्ष संवाद गर्दै खोपको महत्व, समय तालिका र दीर्घकालीन फाइदाबारे जानकारी दिइरहेका छौँ।”

समुदायस्तरमा सचेतनाको विस्तार
अभियानले समुदायमा खोपसम्बन्धी भ्रम निवारण, स्वास्थ्य परिवार सुखको आधार (ऐना) वितरण तथा स्वास्थ्य सचेतना अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्‍याएको छ। स्वास्थ्यकर्मीहरूले खोप सुरक्षित, प्रभावकारी र जीवनरक्षक रहेको सन्देश प्रवाह गर्दै अभिभावकहरूको विश्वास जित्न सफल भएका छन्।

वडा कार्यालयको निरन्तर प्रतिबद्धता
कमल–२ का वडा अध्यक्ष अशोक सुब्बाले बाँकी घरधुरीको सर्वेक्षण केही दिनभित्रै सम्पन्न गरिने जानकारी दिनुभयो।
“स्वास्थ्य र शिक्षा वडाको सधैं प्राथमिकता हो,” उहाँले भन्नुभयो, “पूर्ण खोप सुनिश्चितता अभियान बालबालिकाको उज्ज्वल भविष्यतर्फको सशक्त कदम हो।”

उदाहरणीय अभ्यास

स्थानीय सरकार, कमल नगर अस्पताल र वडा कार्यालयबीचको सुदृढ समन्वयमा सञ्चालन भइरहेको यो अभियान नेपाल सरकारले अघि बढाएको राष्ट्रिय खोप कार्यक्रमको स्थानीय तहमा सफल कार्यान्वयनको उदाहरणीय अभ्यास बनेको छ। अभियान पूर्ण सफल भएमा बालबालिकाको स्वास्थ्य जोखिम न्यूनीकरण हुनुका साथै समुदायस्तरमा स्वास्थ्य सचेतनामा उल्लेखनीय वृद्धि हुने अपेक्षा गरिएको छ।

Latest stories

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here